Logo
Logo

घुस लिने दोलखाका सिडिओको सरुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० मंसिर ।
अभियुक्तसँग घुस लिने दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)खगेन्द्रप्रसाद रिजाल गृह मन्त्रालय तानिएका छन् । उनले मुद्दा छिन्ने क्रममा पटक– पटक घुस लिएको खुलेपछि गृह मन्त्रालयले शुक्रबार सिडिओको जिम्मेवारीबाट हटाएको हो ।

गृह मन्त्रालया प्रवक्ता केदारनाथ शर्माका अनुसार उनलाई हटाइउको पुष्टि गरे । सिडिओ रिजालले जिल्ला छाडिसकेका छन् । नयाँ सिडिओ भने पठाइएको छैन ।
उनले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार घुस लिएका थिए । पछि विवाद भएपछि फिर्ता गरेको खुलेको थियो ।

यस्तो थियो घुसाकाण्ड
मेलुङ गाउँपालिका–४ भेड्पु निवासी लामा जनप्रतिनिधिमाथि हातपातको आरोपमा २४ दिनदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा थिए । उनलाई प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेर अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । २४ दिन पूरा भएपछि प्रहरीले मंगलबार लामालाई प्रमुख जिल्ला अधिकारी रिजालसमक्ष थुनछेक बहसमा पठायो । प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालयमा लगे पनि कार्यालय समयभन्दा ढिला पुगेको भन्दै त्यत्तिकै फिर्ता पठाइदियो । मुद्दाको बहस हुन सकेन ।
बुधबार पुनः उनलाई जिल्ला प्रशासन कार्यालय लगियो । थुनछेक बहसकै क्रममा लामालाई सिडिओ रिजालले यसअघि पनि दुईवटा मुद्दामा परेको भन्दै धरौटीमा छोड्न नमिल्ने बताए । उनले चेम्बरसँगैको अर्को गोप्य कोठामा लगेर लामालाई ‘यसअघि नै तिमीविरुद्ध दुईवटा मुद्दा परेकाले धरौटीमा छोड्न मिल्दैन’ भन्दै रकम बार्गे्निङ गरे । लामाले आफ्नो सानो बच्चा रहेको भन्दै परिवारमा अप्ठेरो भएकाले धरौटीमा छोडिदिन रिजालसँग आग्रह गरे । त्यसपछि उनले ‘मलाई रिक्स छ, एकपटकलाई बच्यौ एक लाख धरौटी लाग्छ’ भनेका थिए । सिडिओ रिजालले घुस रकम मागेपछि लामा परिवारले ऋण खोज्दै एक लाख जुटाएर बुझाएको लामाकी श्रीमती रेणु तामाङले बताइन् ।

१० हजारको रसिद काटेपछि खुल्यो पोल
सिडिओ रिजालले कुमार लामासँग एक लाख लिएर दस हजारको मात्रै रसिद दिएपछि यो तथ्य बाहिर आएको हो । बुधबार रकम बुझाएर हिरासतबाट बाहिर निस्कँदा साँझ परिसकेको थियो । घर पुगेपछि लामा परिवारले रसिद हेरे । त्यहाँ जम्मा १० हजार मात्र उल्लेख भएको देखेपछि आश्चर्यमा परे । बिहीबार बिहान लामा परिवार जिल्ला प्रशासन कार्यालय आइपुग्यो । त्यहाँ कालिञ्चोकका उदिम तमाङ र इन्द्रबहादुर तामाङ भेटिए । सिडिओले आफूहरूसँग बढी पैसा लिएकाले फिर्ता माग्नुपर्ने उनीहरूबीच छलफल भयो । त्यसपछि उनीहरूले जिल्लाका मिडियालाई खबर गरे ।

लामाकी श्रीमती रेणु तामाङ जिल्ला प्रशासन कार्यालय गएर रिजालसँग ‘सिडियो साब हाम्रो बाँकी ९० हजार रुपैयाँ खै’ भनेर प्रश्न गर्न थालिन् । सामान्य घटनामा पनि धेरै पैसा लिएको भन्दै कराउन थालेपछि रिजाल झस्किए । रिजालले बाहिर हल्ला नगरिदिनु भन्दै फोनसमेत अफ गर्न लगाई गाडीमा राखेर क्वार्टरतर्फ लगे । पत्रिकाले बेरेको कागजमा ९० हजार राखेर तामाङलाई फिर्ता गरे । सिडिओ रिजालले आफूले बढी लिएको रकम फिर्ता गरेको स्विकारेका छन् । उनले त्यो रकम आफूले राख्न नभई लामाबाट पीडित भएका मानिसलाई क्षतिपूर्ति दिलाउन लिएको, तर उनीहरू नआएकाले फिर्ता गरेको दाबी गरे । तर, कानुनमा पीडितलाई क्षतिपूर्ति दिलाउन सिडिओले पैसा लिन पाउने प्रावधान नै छैन ।

प्रतिक्रिया दिनुहोस्