Logo
Logo

पुरानाे राज्यव्यवस्थामा काम गरेका कर्मचारीलाई विदाई गर्न नसक्नु कमजोरी भयोः प्रचण्ड


- दृष्टि न्युज/संवाददाता


धनगढी, २० मंसिर ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्र परिवर्तन हुन नसकेको बताएका छन् । कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको उनको भनाई छ ।


शुक्रबार धनगढीमा सुदूरपश्चिम वित्तीय सम्मेलनमा सम्बोधन गर्दै दाहालले राजनीतिक परिवर्तनसँगै पुरानो राज्यव्यवस्थामा काम गरेका कर्मचारीलाई विदाई गर्न नसक्नु ठूलो कमजोरी भएको पनि बताए । “पुराना संरचनामा काम गरेकालाई विदाई गर्नुपर्ने थियो । आफूले भनेका मान्छे ल्याउनु पर्थ्यो। तर भएन“, दाहालले भने, “उनै मूख्य सचिव, उनै सचिव अनि कसरी हुन्छ परिवर्तन ? “

कर्मचारीले विभिन्न बहाना बनाएर नेताको दिमाग खराब गरिरहेको टिप्पणी गरेका दाहालले नेताले हार्ने र कर्मचारीले जित्ने अवस्था आउन नहुने पनि बताए । दाहालले संघीयता लागु गर्ने सवालमा कर्मचारीतन्त्रबाट असहयोग भएको र उनीहरुलाई परिवर्तन गर्न नसक्नुमा राजनीतिक नेतृत्वको समेत कमजोरी भएको उनको भनाई छ । राजनीतिकरुपमा ठूला–ठूला उपलब्धी हासिल गरे पनि कर्मचारीतन्त्रलाई आफू अनुकुल चलाउन नसक्नु हात्ती र्छियो पुच्छर अड्क्यो भनेजस्तै भएको दाहालको टिप्पणी थियो।

६२÷६३ अगाडिका राजनीतिक परिवर्तनपछि कर्मचारीतन्त्र हाबी भएकै कारण उपलब्धी गुमेको बताएका दाहालले फेरि पनि त्यस्तो अवस्थाको जोखिम भएको बताए । कर्मचारीहरु केन्द्रिकृत मानसिकताबाट मुक्त हुन नसकेको बताएका दाहालले अहिलेको अवस्था हेर्दा फेरि पनि उपलब्धि गुम्ने हो कि भन्ने खतरा देखिएको पनि बताए। संघीयता कार्यान्वयनमा नजाँदा अहिले परिवर्तनकारी शक्तिहरु खुम्चिने र यथास्थितिवादीहरु हौसिने अवस्था आएको पनि दाहालको भनाई थियो। उनले कर्मचारीतन्त्रलाई परिवर्तनको आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्