Logo
Logo

अग्रणी बैंकर पाँडे सम्मानित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० मंसिर
नेपाल बैंकर्स एशोसियसनले अग्रणी बैंकर पृथ्वीबहादुर पाँडेलाई सम्मानित गरेको छ । नेपालको बैंकिङ क्षेत्रलाई माथि उठाउन चार दशक लामो योगदान पुर्याएको भन्दै एशोसियसनले सम्मान गरेको हो ।

एशोसियसनको २३ औं साधरणसभामा गभर्नर डा चिरिञ्जवी नेपालले पाँडेलाई सम्मानित गरेका हुन् । एशोसियनका पूर्व अध्यक्ष समेत रहेका पाँडे नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष हुन् ।
सन् १९७८ मा आफ्नो बैंकिङ करिअर सुरु गरेका उनी हालसम्म यही क्षेत्रमा निरन्तर सक्रिय छन् । चाटर्ड एकाउन्टेन्टका रुपमा उनले नेपाल राष्ट्र बैंकबाट आफ्नो करिअर सुरु गरेका थिए । ‘नेपाल राष्ट्र बैंकमा काम गरेको अनुभव नै मेरो करिअरको जग बन्यो, जसले मेरो जीवनमा थप अवसरका ढोका खोल्यो,’ सम्मानित भएपनि कार्यक्रममा बोल्दै उनले भने,‘ राष्ट्र बैंकको अनुभवले ममा आत्मविश्वास बढ्यो, नेटवर्क बन्यो त्यहीबाट म कमर्सियल बैंकरमा रुपान्तरित भएँ ।’

नेपाल राष्ट्र बैंकमा करिब १० वर्ष काम गरेपछि उनी हिमालयन बैंकमा आबद्ध भए । त्यहाँ १० वर्ष काम गरेपछि नेपाल इन्डो सुयज बैैंकमा आबद्ध भयो । त्यही बैंक आज नेपाल इन्भेष्टमेन्ट बैंकका नामले परिचित छ र उनी त्यसमा अध्यक्ष छन् । उनकै नेतृत्वमा इन्भेष्टमेन्ट बैंक देशको लोकप्रिय र विश्वसनिय बैंक बन्न पुगेको छ ।

कार्यक्रममा बोल्दै उनले ठूलो संख्या बैंकहरु हुनु नै यो क्षेत्रको प्रमुख चुनौती भएको उनले बताए । बैंकको संख्या घटउने राष्ट्र बैंकको नीति सही भएको उनको भनाई छ ।
ठूला बैंकहरु मर्ज हुनका लागि सञ्चालकहरु इगोबाट माथि उठ्नसक्नुपर्नै र आफुलाई भन्दा बैंकिङ क्षेत्रलाई केन्द्रमा राखेर सोच्नुपर्ने उनको भनाई छ । बैंकहरु प्रविधिसँगै अघि बढ्नुपर्नेमा उनको जोड छ ।

देशका सफल बैंकरका रुपमा स्थापित भइसकेकाले पाँडले आफ्नो जीवनलाई तीन भागमा विभाजन गरेका छन् – सिक्ने, कमाउने र दिने । आफु जीवनको तेस्रो भागमा प्रवेश गरेको उनले सुनाए । सिक्ने र कमाउने चरण सकिएको र कला संस्कृतीका लागि केही दिने अभियानमा आफु लागेको उनको भनाई छ ।
पाँडे कलाप्रेमी बैंकर मानिन्छन् । कला तथा संस्कृतीको संरक्षण र प्रबद्र्धनमा उनले लामो समयदेखि सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्