काठमाडौं, २२ मंसिर ।
प्रहरी प्रधान कार्यालयले गरेको काज सरुवामा उपत्यकाका तीन वृत्तका इन्चार्ज पनि फेरिएका छन् । बालाजु वृत्तमा डिएसपी रंजितसिंह राठौर, सातदोबाटो वृत्तमा मित्रबन्धु शर्मा तथा थानकोट वृत्तमा घनश्याम श्रेष्ठको इन्चार्जको सरुवा भएको छ । तीन वटा वृत्तमा कार्यरत डिएसपीको एक वर्षको कार्यकाल पुगेकाले सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बालाजु वृत्तका डिएसपी बालनरसिंह राणा, सातदोबाटोका गौतम मिश्र तथा थानकोटका कुमार बिक्रम थापाको एक वर्षको कार्यकाल पुगेकाले हेरफेर गरिएको हो ।
सरुवामा विभिन्न इप्रका तथा वडा कार्यालयका प्रमुख पनि फेरिएका छन् । वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा यादब ढकाललाई पठाइएको छ । त्यहाँ कार्यरत कोमल शाहलाई उपनिर्वाचनमा सुरक्षा दिन नसकेको आरोपमा हटाइएको थियो । इप्रका लहानमा शरद कुमार थापा क्षत्री, इप्रका मिर्चेयामा डिएसपी सन्तुलाल प्रसाद जैसवार, इप्रका हंशपुर कास्कीमा अर्जुन रानाभाट, इलाका प्रहरी कार्यालय पथरी मोरङमा दिलिप गिरी तथा इप्रका गरुडाबजार रौतहटमा ज्ञानकुमार महतोलाई सरुवा गरिएको छ ।












