Logo
Logo

आन्दोलन भड्काउँदै एमाले, ठूलो मानवीय क्षति हुने खतरा


3.2k
Shares

काठमाडौं । कोशी प्रदेशमा पहिचान पक्षधरको आन्दोलन चर्किएको तीन महिना बित्यो । तर, अझै आन्दोलनले मूर्तरूप लिन सकेको छैन ।

पहिचानवादीलाई विराटनगरको ४० डिग्रीको घामले पनि त्यति पोलेको छैन, जति पहिचानको मुद्दाले पोलेको छ । प्रदेशको नाम कोशी राखेसँगै सुरु भएको आन्दोलन अझै रोकिएको छैन । र, माग पूरा नभएसम्म रोकिने छाँटकाँट देखिँदैन ।

पहिलो प्रदेशसभाले पाँच वर्षमा पनि राख्न नसकेको नाम दोस्रो प्रदेशसभाले १० घण्टामै राखेको थियो । गत फागुन १६ गतेसम्म प्रदेश–१ को नामकरण गर्ने कुनै चालचुलसमेत थिएन । तर, फागुन १७ एकैदिन यो विषय टुंग्याइयो । र, बेनामे प्रदेशले नाम पायो, कोशी प्रदेश ।

लामो समय अल्झिरहेको यो प्रस्ताव अन्त्यमा यति छिटो टुंग्याइयो कि पहिचान पक्षधरले त्यसको भेउसमेत पाएनन् । फागुन १७ गते ११ बजेबाट प्रक्रिया सुरु भएर रातको ९ बजे प्रदेशसभाले प्रदेशको नाम कोशी पास गर्यो । प्रदेशसभाका सांसद मात्र होइन, मन्त्रीले समेत बिहानसम्म प्रदेशको नामकरण हुँदैछ भन्ने सुइँकोसमेत पाएका थिएनन् ।

प्रदेशले नाम त पायो तर उक्त नाम घाँडो भयो । त्यसको भोलिपल्ट (फागनु १८ गते)बाट आन्दोलन सुरु भयो । पहिचानवादीहरू सडकमा उत्रिए । नेताहरू उनीहरूको तारोमा परे । र, जता जाँदा पनि लखेटिन थाले ।

प्रदेशको नामकरणले पूर्वी भूभाग आन्दोलित छ । आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन प्रयास नै भएको छैन । बरु, आन्दोलनलाई हिंसात्मक बनाउने कोसिस भइरहेको छ । शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउन एमालेले भूमिका खेलिरहेको छ ।

चैत्र ६ गते ओखलढुङ्गामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गाडीमा आक्रमण भयो । त्यसको भोलिपल्ट माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको गाडीमाथि ताप्लेजुङमा आक्रमण भयो ।

आन्दोलन चर्किँदै गयो । पालिकाहरूमा ‘कोशी प्रदेश’ नाम भएको बोर्डहरू हटाउने र तालाबन्दी गर्ने अभियान चल्यो । मसाल जुलुस र विरोध प्रदर्शन नभएको दिनै भएन ! प्रदेश राजधानी र जिल्ला–जिल्लामा भइरह्यो ।

प्रदेश राजधानी विराटनगरमा विशाल जनप्रदर्शन भयो । त्यसक्रममा पदम लिम्बू ‘लाजेहाङ’ले सहादत प्राप्त गरे । उनको चैत्र १० गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भयो ।

आन्दोलन झनै चर्कियो । सांसदहरू प्रदेशसभा छिर्नै नसक्ने अवस्था सिर्जना भयो । होटेल होटेलमा भेला हुन बाध्य भए । तर, पहिचानवादीले त्यहाँ पनि उनीहरूलाई छाडेनन् । चैत्र १४ गते विराटनगरको बिग होटलमा प्रदेशसभा सदस्यलाई कालोझण्डा देखाए ।

चैत्र २५ गते खोटाङमा एमाले सांसद पाँचकर्ण राईलाई कालो मोसो दलियो । उदयपुरमा प्रदेश सांसदको घरमा कालोझण्डा गाडियो । सांसद र नेताहरूलाई ‘वंश गद्दार’ घोषणा गर्ने काम भयो । यो पार्टी, त्यो पार्टी भनेर छुटाएनन् । कोशी नाममा मतदान गर्ने सांसदहरू लखेटिरहे ।

नेताहरू सार्वजनिक स्थानमा निस्कनै नसक्ने स्थिति बन्यो । त्यहीँ बेला पहिचान विरोधी छवि बनाएका एमाले अध्यक्ष केपी शर्मा ओली कोशीतिर हानिए । उनीलाई त्यहाँ चारदिन बस्न पनि सकस पर्यो । उनको कोशी बसाइ सुखद रहेन । जहाँ गयो त्यही विरोध र कालो झण्डा ।

वैशाख १३ गते झापाको बुद्धशान्ति गाउँपालिकामा ओली र सुवासचन्द्र नेम्वाङलाई पहिचानवादीले कालो झण्डा देखाए । त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भयो ।

वैशाख १४ गते इलाम सदरमुकाम पुगेका ओलीलाई त्यहाँ पनि कालो झण्डा देखाइयो । ओली आउने थाहा पाएपछि इलामको गोदकमा पहिचानवादीले रूख ढालेर सडक अवरुद्ध गरेका थिए ।

वैशाख १५ गते तेह्रथुमको आठराई गाउँपालिका पुगेका ओलीमाथि पुनः पहिचानवादीले कालो झण्डा देखाए । वैशाख १६ गते फर्कने क्रममा फिदिममा पनि ओलीलाई कालो झण्डा देखाइयो ।

त्यसपछि एमालेले पत्रकार सम्मेलन गरेरै सरकारले नै कोशी प्रदेशमा अराजकता मच्चाइरहेको आरोप लगायो । पहिचानवादीको रिसको झोँकमा ओली सरकार, पूर्वराजा ज्ञानेन्द्र शाह र उनका बुहारी हिमानीमाथि खनिए ।

आफ्नो विरोध सुन्नै नसक्ने ओलीलाई छट्पटी भयो । त्यसपछि बारम्बार पहिचान आन्दोलनका विरुद्ध उग्र अभिव्यक्ति दिन थाले । अरु पार्टी र तीनका नेताहरूले प्रदेशको नामाकरण विवादलाई सम्य पार्ने केही कदम चाले पनि एमालेले भने हिंसा भड्काउने अभिव्यक्ति दिन छाडेन ।

माओवादीले प्रदेश नामाकरणको विषयमा गल्ती स्वीकार गर्दै पहिचानवादीको अन्दोलनमा समर्थन जनायो । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रदेशको नामाकरणको विषयमा माओवादीको गल्ती स्वीकार्दै आफूहरू पहिचानकै पक्षमा भएको स्पष्ट पारे ।

चैत्र २२ गते माओवादीको पदाधिकारी बैठकले प्रदेश नं १ को नामाकरण पहिचानबाटै राख्नुपर्ने निर्णयसमेत गर्यो । यही १७ गते कांग्रेसका १४ जिल्ला सभापतिहरूले पनि ‘कोशी प्रदेश’को नाम पुनर्विचार गर्न माग गर्दै विज्ञप्ति निकाले । उनीहरूले विरोधको सुनुवाइको माग पनि गरे ।

तर, प्रदेशको सबैभन्दा ठूलो दल एमालेको उग्र अभिव्यक्ति रोकिएन । सायद, पहिचान शब्द सुन्दा मात्रै पनि एमालेका केही नेताका कान पाक्छ ! प्रदेशको नामाकरणमा पुनर्विचार गर्नै नसक्ने भन्दै पहिचानवादीलाई चिढ्याउने काम गरिरहे ।

फलस्वरुपः पहिचानवादीको तारोमा सबैभन्दा बढी एमाले नै पर्यो । त्यो स्वभाविकै हो । बिनापहिचान प्रदेशको नाम राख्ने प्रस्ताव एमालेकै थियो । र, बिनापहिचान नामकरण गर्दा एमाले नेतृत्वकै सरकार ।

प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनरत पक्षले गत बिहीबार उदयपुरमा उपसभामुख सिर्जना दनुवारमाथि आक्रमणको प्रयास गरे । त्यस्तै, इलामको सोयाकमा एमालेका प्रदेशसभा संसदीय दलका उपनेता राम रानाको गाडी रोकेर मोबिल पोखिदियो । त्यसअघि पनि रानामाथि इलामकै माङ्सेबुङमा आक्रमण भएको थियो ।

त्यसको प्रतिक्रियामा एमाले अध्यक्ष ओलीले अराजक अभिव्यक्ति दिए । गत बिहीबार पार्टी मुख्यालय च्यासलमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई शपथ गराउँदै अब तयारीका साथ मुकाबिला गर्नुपर्छ भन्दै ‘अरिङ्गाल’लाई उक्साए ।

पहिचान जोडेर राख्दा उक्त पहिचान नजोडिएकाहरूलाई त्यहाँ बस्नै नदिने भन्दै उनले भ्रम छर्न पनि भ्याए । राम रानालाई इलाममा आगो लगाउने प्रयास गरेको उनले आरोप लगाए ।

त्यतिमै ओली रोकिएनन् । पहिचानवादीमाथि आक्रोश पोखिरहँदा आफ्नै नेताकार्यकर्ताको इज्जतको हेक्का समेत राखेनन् । महेश बस्नेत, सर्वेन्द्र खानालहरूको अपमान हुनेगरी पहिचानवादीलाई ‘गुण्डा’ भनिदिए ।

ओलीले उक्साएको २४ घण्टा नबित्दै ‘बैगुनी केटा’ (योगेश भट्टराई) जङ्गिए । ‘पुक्क लात्तीले हान्ने’ केटाले नै ओलीलाई साथ दिए । शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै ओलीकै शैलीमा उत्तेजक अभिव्यक्ति दिए ।

‘कुरा गम्भीर छ’ भनेर सम्बोधन थालेका ‘बैगुनी केटा’ले कोशी प्रदेशको गम्भीर्यताको हेक्का राखेनन् । सभामुख देवराज घिमिरेले पनि ‘एमाले चरित्र’ देखाइहाले । दुई मिनेट समय भनेर आफ्नो दलको सांसद योगेशलाई १० मिनेट २७ सेकेन्ड बोल्न दिए । माइक काटेनन् ।

‘ढुंगामुढा गरेर हुँदैन’ भन्दै गर्दा ‘बैगुनी केटो’ले आफू ढुंगामुढाकै बलमा माननीय भएको बिर्से । विराटनगरमा आन्दोलनको क्रममा लाजेहाङको आन्दोलनकारीकै प्रहारबाट मृत्यु भएको भन्दै झनै हिंसा भड्काउने अभिव्यक्ति दिए । एमालेको सुरक्षाबारे गृहमन्त्रीलाई बारम्बार प्रश्न गरिरहेका योगेश जनताको सुरक्षाबारे चुइक्क पनि बोलेनन् । सायद, लाग्दो हो– मान्छे भनेको एमालेका नेता कार्यकर्ता मात्रै हुन् !

यता, एमाकाले प्रमुख सचेतक पदम गिरीले पनि जनताको आवाज उठाउने मुख्य थलो संसद्को दुवै सदन अवरोध गर्ने चेतावनी दिन भ्याए ।

गर्मीसँगै गर्माएको पहिचानको आन्दोलनमा एमालेको यस्ता अभिव्यक्तिले बलेको आगोमा घिउ थप्ने काम भएको छ । यस्तो अभिव्यक्तिले थप हिंसा भड्किने चिन्ता बढेको छ । आन्दोलनरत पक्षले आफ्नो प्रतिवद्धता विपरीत नेताहरूमाथि दुर्व्यवहार गर्ने र एमाले नेतृत्वले प्रतिवादमा उत्रिन निर्देशन दिँदा परिस्थिति हिंसातिर धकेलिन सक्ने भय छ ।

तीन महिना निरन्तर आन्दोलन र झडपहरूलाई अनदेखा गरिरहेको एमाले अहिले हिंसा भड्काउन लागिपरेको देखिन्छ । जसले पहिचानविहीन नाम राख्ने प्रस्ताव गरे, उनीहरूले नै पहिचानवादीलाई जिस्काइरहेका छन् ।

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्ने पक्का भएपछि एमाले हिंसा भड्काउनेतिर उन्मुख भएको कतिपयले टिकाटिप्पणी गर्न थालेका छन् । आन्दोलनलाई साम्य पार्न पहल गर्नुपर्नेमा एमाले उल्टो बाटोमा हिँडेको देखिन्छ ।

यदि अब कोशी प्रदेश सरकार ढलेको खण्डमा एमाले सत्ताविहीन हुनेछ । त्यसैले पनि अराजकता फैलाएर सरकारलाई असफल बनाउने दाउमा एमाले लागेको आरोप लाग्न थालेको छ । एमालेमाथि लागेका ती आरोपलाई ओलीको पछिल्ला अभिव्यक्तिले बल पुर्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्