Logo
Logo
नक्कली शरणार्थी प्रकरण

टेकनाथका वकिलले भने- मेरो पक्षले नेताहरुलाई भेटेको साँचो हो


2.7k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालको बचाउमा वकिलहरुले बहस गरेका छन् । ठगी कार्यमा रिजालको संलग्नता नरहेको वकिलहरुले जिकिर गरेका हुन् ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपोनेको एकल इजलासमा बिहीबार भएको बहसमा अधिवक्ता रामकुमार सुवालले रिजालले नेताहरुलाई भेटेको स्वीकारेपनि ठगी कार्यमा उनको संलग्नता नभएको दावी गरे । ‘मेरो पक्षले नेताहरुलाई पटकपटक भेटेको साँचो हो, तर, त्यो भेटघाट भुटानी शरणार्थी समस्या समाधानका लागि हो ।’ उनले ‘सिंहदरबारभित्र पस्ने हैसियतसमेत नभएका रिजालले कसरी किर्ते कागजात बनाए’ भन्दै प्रश्न गरे ।

अधिवक्ता सुवालले नक्कली शरणार्थी प्रकरणमा पैसा उठाउनेहरुले रिजालको नाम मुछेको दावी गरे । उनले गृहमन्त्रालयमा पेश भएको शरणार्थीसम्बन्धी प्रतिवेदनमा प्रश्न उठाउँदै भने, ‘दुवै प्रतिवेदनमा कार्यदलका पदाधिकारीको हस्ताक्षर भएपछि त्यो प्रतिवेदन कसरी किर्ते भयो ?’

यस्तै, अर्का अधिवक्ता डा.राजेन्द्र घिमिरेले पनि रिजालको ठगी प्रकरणमा संलग्नता नभएको दावी गरे । उनले ‘रिजाल भुटानी नागरिकलाई तेस्रो मुलुकमा व्यवस्थापन होइन, भुटान फिर्ती हुनुपर्छ भनेर वकालत गर्ने व्यक्ति’ भएको जिकिर गर्दै उनलाई सरकारले नेपालीलाई भुटानी बनाउन खोजिस् भनेर अभियोग लगाएको बताए ।

भुटानमा रहँदा यातनाका कारण रिजालमा शारीरिक तथा मानसिक समस्या देखिएको भन्दै रिजालले बारम्बार होस गुमाउने र फेरि समस्या देखिएको उनले बताए ।

यस्तै, रिजालको पक्षमा बहस गर्ने अर्को अधिवक्ता डोरविक्रम थापाले गृहका कर्मचारीहरुले नै रिजालको नाम नपोलेको र किटानी जाहेरी समेत नपरेको अवस्थामा उनीविरुद्ध मुद्दा चलाउनु गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्