काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकससँगै नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोटअघि अभ्यास खेलमा ओमानविरुद्ध जिततर्फ अघि बढेको छ ।

जितको लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३० ओभरमै १ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको छ ।
नेपालका कुशल भुर्तेल ९१ बलमा १३ चौका र २ छक्कासहित १ सय रनमा क्रिजमा छन् । कुशलले ९१ बलमा शतक पूरा गरेका थिए ।
उनलाई भीम सार्कीले ६५ बलमा ८ चौकासहित ५० रनमा साथ दिएका छन्। दोस्रो विकेटका लागि भीम सार्की र कुशल भुर्तेलले १ सय ६ रनको शतकीय साझेदारी गरि सकेका छन् ।
नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । आसिफ २४ बलमा २३ रनमा आउट भए । तीव्र गतिका बलर कलिमुल्लाहको बलमा आसिफ आयन खानबाट क्याच आउट भएका थिए ।
त्यसअघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ४९ ओभार दुई वलमा २ सय ६७ रनमा अल आउट भएको थियो ।
ओमान कप्तान जिशान मकसुदले १ सय ६ बलमा १५ चौका र १ छक्कासहित १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । सोमपाल कामीले ९।२ ओभरमा २ मेडनसहित ५७ रन खर्चेर ५ विकेट लिए । यो नेपाललको अन्तिम अभ्यास खेल समेत हो ।














