Logo
Logo

नक्कली शरणार्थी प्रकरण : यी दुई जना धरौटीमा छुटे



काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रचिएको अपराधका १६ अभियुक्तमध्ये लक्ष्मी महर्जन र टंक गुरुङलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । महर्जनलाई ५ लाख र गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आदेश दिएका हुन् ।

पाँचथरका गुरुङलाई नक्कली शरणार्थी प्रकरणका नाइकेको सहयोगीको रुपमा सक्रिय रहेको अभियोग छ । त्यस्तै महर्जन नेपाल प्रहरी अस्पतालकी नर्स (नायव निरीक्षक) हुन् ।

उनी यही प्रकरणमा पुर्पक्षका लागि कारागारमा पठाउन आदेश भएका हरिभक्त महर्जनकी श्रीमती हुन् । महर्जनले लक्ष्मीका नाममा खोलेको खातामार्फत रकम लेनदेन गर्ने गरेका थिए । बाँकी १६ अभियुक्तलाई भने अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।

तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सचिव टेकनारायण पाण्डे, योजनाकार मानिएका केशव दुलाल र सानु भण्डारी, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल पुर्पक्षका लागि थुनामा रहनेछन् ।

त्यस्तै सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, पूर्व सभासद आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शम्शेर मिया र हरिभक्त महर्जन पनि थुनामा रहनेछन् ।

यो मुद्दामा १२ जना भने अझै फरार छन् । फरार रहेका आरोपितहरु भने अदालतमा उपस्थित भएपछि मात्रै बयान र थुनछेक बहस हुन्छ ।

प्रतिक्रिया दिनुहोस्