
काठमाडौं । वर्षायाम सुरु भएसँगै पूर्वी नेपालमा बाढी र पहिरोले वितण्डा मच्चाएको छ । शनिबार राति अविरल वर्षासँग आएको बाढी र पहिरोले सङ्खुवासभा, ताप्लेजुङ् र पाँचथारमा जनधनको व्यापक क्षति गरेको छ ।
साथै हालसम्म २६ जना बेपत्ता भएका छन् । अहिलेसम्म प्राप्त विवरणअनुसार सङ्खुवासभामा १७, ताप्लेजुङ्मा ४ र पाँचथरमा ५ जना बेपत्ता भएका छन् ।
त्यस्तै अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १ मजदुरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । संखुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएका छन् ।
बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पु¥याएको छ । यस्तै पाँचथरमा बाढीले बगाएर ५ जना बेपत्ता भएका छन् ।
बाढीले बगाउँदा जिल्लाका हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बु, फिदिम नगरपालिका–५ का ५५ वर्षीय राजकुमार राई, हिलिहाङ गाउँपालिका–७ माझीटारका २८ वर्षीय आशिष माझी र सोही ठाउँकी २५ वर्षीया एलिसा माझी बेपत्ता भएको पाँचथर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिवश कुँवरले जानकारी दिए ।
बाढीले हेवा खोलामा रहेका तीनवटा पक्की पुल र एउटा झोलुंगे पुल पनि बगाएको कुँवरले जानकारी दिए । जसले गर्दा मेची राजमार्ग अवरुद्ध छ भने भेडेटार निस्किने सडक पनि बन्द भएको छ ।
यता ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका हुन् ।
यस्तै मेहेलेकै भरत तामाङ पनि बेपत्ता भएका छन् । खोला छेउमा घर भएका तामाङ ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएको बताइएको छ ।
मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ। यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पहिराले बगाएको छ । अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् ।
बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्ण रूपमा बन्द भएका छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युतसमेत ठप्प छ । मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् ।











