Logo
Logo

ओलीलाई भेट्न च्यासल पुगे वामदेव गौतम


10.8k
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेता वामदेव गौतम च्यासल पुगेका छन् । एमालेले ७० वर्षे उमेर हद हटाएपछि आइतबार पहिलो नेता गौतम अध्यक्ष ओलीलाई भेट्न एमाले पार्टी कार्यालय च्यासल पुगेका हुन् ।

नेकपा एकता अभियानका संयोजक गौतमले यसअघि गत जेठ २४ गते अध्यक्ष ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्किने बताएका थिए । एमालेले ७० वर्षे उमेरहद हटाएपछि गौतम एमालेमा फर्किन इच्छुक देखिएका छन् ।

राष्ट्रियसभाका सदस्यसमेत रहेका नेता गौतमले हालसम्म एमालेको सदस्यता भने त्यागि सकेका छैनन् । पछिल्लो समय गौतमले पार्टीले आफ्नो योग्यताअनुसारको भूमिका दिएमा सक्रिय हुने बताउँदै आएका छन् ।

नेता गौतम नेकपाकालीन अवस्थामा असन्तुष्ट भएका थिए । नेकपा माओवादी केन्द्रसँग मिलेर बनेको नेकपामा २०७७ कात्तिकदेखि विवाद बढ्दै गएर विभाजनसम्म पुग्दा वामदेव ओलीविरुद्ध उभिएका थिए । अध्यक्ष ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्