
काठमाडौं । कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर र संखुवासभा लगायतका जिल्लामा शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी हालसम्म ७ जनाको मृत्यु भएको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार खोलाले बगाएर भोजपुर र सङ्खुवासभामा १/१ जनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा ५ जना रहेका छन् । जसमा पाँचथरमा १ पुरुष र १ बालिका तथा ताप्लेजुङमा ३ जना पुरुष पहिरोमा पुरिएर मृत्यु भएको छ ।
यस्तै हालसम्म पहिरोले पुरेर २८ जना बेपत्ता भएका छन् भने ६ जना घाइतेको उद्धार भएको छ । बेपत्ता हुनेहरुमा पाँचथरमा ४, ताप्लेजुङमा ३ जना रहेका छन् । खोलाले बगाएर बेपत्ता हुनेको सङ्ख्या २१ जना रहेको छ । जसमा सङ्खुवासभामा १८ पुरुष र ३ जना महिला बेपत्ता भएको सो मन्त्रालयले जनाएको छ ।
विभिन्न जिल्लाका गरेर १५ वटा पुल क्षतिग्रस्त भएका छन् । १७ स्थानमा सडक अवरुद्ध बनेको छ । यस्तै ५ वटा हाइड्रोमा क्षति पुगेको छ भने ५४ घर विस्थापित बनेको छ ।











