Logo
Logo

खेलकूद मन्त्री र सदस्य सचिवलाई बर्खास्त गर्न माग (विज्ञप्तिसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ मंसिर । नेपाल तरुण दलले १३औँ सागमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गरेको भन्दै खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई बर्खास्त गर्न माग गरेको छ ।
नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै उनीहरुलाई बर्खास्त गर्न समेत माग गरेको हो । विज्ञप्तिममा भनिएको छ, ‘नेकपा सरकारका भ्रष्ट, नालायक, अपराधीका संरक्षक मन्त्रीहरुलाई साग खेलकुदको रकमबाट दौरा सुरुवाल खरिद गर्नुले देशकै बदनाम भएको ठहरसहित नेपाल तरुण दलको ध्यानाआकर्षण भएको छ । नेपाली खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङलगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्ने खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले मन्त्रीहरुको चाकरीको लागि दौरा सुरुवाल उपलब्ध गराउनु लाजमर्दो भएको तरुण दलले महसुस गरेको छ ।’
साथै, साग खेलकुद प्रतियोगिताको टिकट बेच्ने जिम्मेवारी बिनाटेन्डर प्राप्त गरेको ई–सेवाले टिकट बिक्री वितरणमा ठगी गरेको भन्दै तरुण दलले खेद प्रकट गर्दै इसेवामाथि छानविन गर्न पनि माग गरेको छ ।
त्यस्तै, सागका पदक विजेता खेलाडीहरुले देशको इज्जत बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै स्वर्ण पदक विजेता प्रत्येकलाई २५ लाख, रजत पदक जित्नेलाई १५ लाख र कास्य पदक जित्नेलाई १० लाखका दरले पुरस्कारको व्यवस्था गरेर खेलाडी र खेलप्रति सम्मान गर्न दलले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्