काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत र उद्धारको काम गर्ने बताएका छन् ।

सोमबार सेनाको हेलिकप्टरबाट बाढीग्रस्त क्षेत्र पुगेका प्रधानमन्त्री प्रचण्डले बाढी र पहिरोले संखुवासभा, ताप्लेजुङ र पाँचथरमा ठूलो क्षति पुगेको उल्लेख गर्दै उद्धार र राहतको काममा कुनै कसर बाँकी नराख्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले बाढीपहिरो प्रभावित र विस्थापितलाई पुनःस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाउने बताए ।
उनले तत्कालै बाढीले बगाएका पक्की पुलमा बेलिब्रिज बनाउने र आवतजावत सहज बनाउने बताए । तीन वटै जिल्लामा भएको क्षतिको विवरण हेरेर सरकारले नयाँ कार्यक्रम ल्याउने पनि प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् । प्रधानमन्त्री प्रचण्डले उद्धार, राहतसागै बेपत्ता भएकाहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् ।











