Logo
Logo

शव अस्पतालमै, उद्योग बन्द


- दृष्टि न्युज/संवाददाता


लहान, २६ मंसिर । मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरबीच सहमति नहुँदा तीन दिनदेखि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानको शव अस्पतालमै छ । उद्योग व्यवस्थापनले लापरवाही गर्दा उद्योगमा मजदूरी गर्दै आएकी पासवानले आत्महत्या गरेको भन्दै मजदूरले तीन दिन यता आन्दोलन गर्दै आएका छन् । बिहीबार पनि सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योग बन्द गराएका छन् ।
सिमेन्ट उद्योग व्यवस्थापन पक्षले कामबाट हटाएपछि पासवानले गत मंगलबार बिहान उद्योग नजिकैको फुलबारीमा आत्महत्या गरेको थियो । अखिल नेपाल औद्योगिक मजदूर संगठनका सदस्यसमेत रहेकी पासवानले आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूरले काम बहिष्कार गरी आन्दोलन गर्दै आएका छन् ।

मजदूरहरुको माग सम्बोधन गरी समस्या समाधान गर्न बुधबार साँझ भएको उद्योग व्यवस्थापन र मजदूर प्रतिनिधिबीचको वार्तामा कुनै सहमति नभएपछि आज पुनः वार्ता हुने जनाइएको छ । बुधबारको वार्तामा उद्योग व्यवस्थापन पक्षले तत्काल घटनाको सत्यतथ्य छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने र छानबिन समितिको प्रतिवेदनका आधारमा पुनः वार्ता बसेर समस्या समाधान गर्नुपर्ने अडान लिएपछि कुनै सहमति नभएको अखिल नेपाल मजदूर संगठनका प्रदेश नं २ का सचिव केदार देवले जानकारी दिए । वार्तामा उद्योग व्यवस्थापन पक्षले तत्काल सबै विषयवस्तु एकमुष्ट रुपमै सहमति गर्नुपर्ने उनको भनाइ छ । उद्योगमा कार्यरत पासवानलाई कामबाट हटाएकाले आत्महत्या गरेको भन्दै कामबाट निकाल्नेलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मजदूरको माग छ ।

प्रतिक्रिया दिनुहोस्