
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उनले आज बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।
चलाउनेले आफ्नो रिट निवेदनमा सरकारको निर्णय गैरकानुनी र असंवैधानिक भएको दाबी गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन् । रिट दर्ता भएसँगै त्यसको पेशी भोलि बिहीबारका लागि तोकिएको छ । समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थिए ।
त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो । आचार्यसहित ५ जनाविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको थियो । मुद्दा विचाराधीन रहेकै अवस्थामा जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ । चलाउनेले त्रिवि भिसी कार्यालय अगाडि आमरण अनसन पनि सुरु गरेका थिए ।











