Logo
Logo

प्रकोपको सामना गर्न विपत् प्रतिकार्य योजना निर्माण



धनगढी । कैलालीमा दैविक तथा प्राकृतिक प्रकोपको सामना गर्नका लागि विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार भएको छ ।

कैलालीवासीले हरेक वर्ष वर्षातकाे समयमा झेल्दै आएको बाढीपहिरो र डुबानको जोखिमलाई नियन्त्रण गर्न विपत् प्रतिकार्य योजना बनाइएको गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

विपत् आउनुपूर्व आवश्यक तयारी र विपत्को समयमा पीडितको खोज तथा उद्धार गरी स्थानीय स्रोतको अधिकतम उपयोग गरिने उनले बताए । विपत् प्रभावित समुदायलाई व्यवस्थित, प्रभावकारी र जवाफदेहीयुक्त मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले प्रतिकार्य योजना तयार पारिएको जोशीले बताए ।

जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले सो प्रतिकार्य योजनालाई अनुमोदन गरेको छ । उनका अनुसार अनुमोदित प्रतिकार्य योजना प्रमाणित गर्नका लागि कार्यदल बनाइएको छ । जोखिम क्षेत्र र प्रभावित हुने जनसङ्ख्याको पनि विश्लेषण गरिएको छ ।

विगतमा भएका विभिन्न विपद्का घटनाको अध्ययन गरी भजनी नगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी, गौरीगङ्गा, लम्कीचुहा नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर, जानकी गाउँपालिका र धनगढी उपमहानगरपालिकामा बाढीको जोखिम बढी सतर्कता अपनाइने भएको छ । यसैगरी चुरे र मोहन्याल गाउँपालिकामा भूक्षय तथा पहिरोको समस्या रहेको छ ।

वर्षायाममा नियमित रूपमा आउने बाढीको बेला पर्याप्त पूर्वतयारी नगर्दा प्रत्येक वर्ष लाखौँ रुपियाँको धनमाल, अन्नबाली, पशुचौपायासहित मानवीय क्षति हुने गरेको छ । विपत् क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घ संस्थाको एक प्रतिवेदन अनुसार यो जिल्लामा बाढी र डुबान प्रमुख प्रकोपका रूपमा रहेको छ ।

जोखिम क्षेत्रको विश्लेषण गरी कार्ययोजनामा समेट्ने सूचना अधिकारी जोशीले बताए । विपत् प्रतिकार्य योजनाले विपत् आउनु पहिले गर्नुपर्ने जोखिम न्यूनीकरणका आधारभूत पूर्वतयारीका कार्य सुनिश्चित गर्ने, विपदको समयमा मानवीय सहयोगलाई व्यवस्थित गर्ने जनाइएको छ ।

यसमा सरोकारवाला पक्ष, स्थानीय तह र समुदायबीच सहकार्य अभिवृद्धि गर्ने, खोज, उद्धार र राहत जस्ता कार्यमा प्रभावित समुदायको समान पहुँचको प्रत्याभूति गराउने बताइएको छ । विपत् प्रतिकार्य योजना निर्माणले स्थानीय तह तथा स्थानीय विपत् व्यवस्थापन समितिको समन्वय र सहकार्यमा प्रभावकारी प्रतिकार्यका गतिविधि अगाडि बढाउन सहज हुने भएको छ ।

विपत् पूर्व, विपत्को समय र विपत् भइसकेपछि तत्काल प्रभावितको जीवन रक्षाका लागि आवश्यक पर्ने उद्धार, राहत तथा अन्य विधिको पहिले नै पूर्ण तयार गरिने र हुन सक्ने सबै किसिमको क्षति न्यूनीकरण गर्न वा विपद्पश्चात्‌ गरिनु पर्ने खोज, उद्धार तथा राहत वितरण र पुनर्निर्माणलाई प्रभावकारी र चुस्तदुरुस्त बनाउन तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्