Logo
Logo

बढ्यो चिसो : देशैभर वर्षासँगै हिमपात (यस्तो छ तीन दिनको मौसम)


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, २७ मंसिर । शुक्रबार देशभर हल्का वर्षासँगै उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावसँगै देशैभर वर्षा भएको हो । पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै धनगढीमा ६४, नेपालगञ्जमा ५५, डडेलधुरामा ४३, वीरेन्द्रनगरमा ४१ र दिपायलमा ३२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा २२, जुम्लामा १८, भैरहवामा नौ, ओखलढुंगा र दाङमा समान पाँच तथा काठमाडौँमा चार मिलिमिटर वर्षा भएको छ ।
शुक्रबार काठमाडौँ उपत्यकासहित मुलुकभर वर्षा भएको छ । उपत्यकामा वर्षा र उच्च पहाडमा हिमपातसमेत भएकाले आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाका नगरकोट, फुलचोकी, चम्पादेवी, चन्द्रागिरिलगायत क्षेत्रमा हिमपात भएको छ । पश्चिमी क्षेत्रका जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायतका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैबीच मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै हाल देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही भू–भागमा हल्का वर्षा भइरहेको जनाएको छ । साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ । काठमाडौँमा अहिले हल्का वर्षा भइरहेको छ । अपराह्नदेखि पानी पर्न शुरु भएको थियो ।
राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा साथै पूर्वका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाइएको छ । मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
यस्तै शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने छ । आइतबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानका साथै मध्य र पूर्वका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्