काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चारसम्बन्धी विधेयक छिटोभन्दा छिटो संसदमा पेश गर्ने बताएकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै मन्त्री शर्माले विज्ञहरुसँग आवश्यक सुझाव लिएर सो विधेयकलाई संसदमा पेश गर्ने प्रक्रियाका लागि मन्त्रालयले काम गरिरहेको बताईन् ।
सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित धेरै ऐनहरु पुराना भएकाले त्यसलाई अद्यावधिक गरेर नयाँ कानुन बनाउने काममा सरकारले ढिलाई नगर्ने उनको भनाई छ । ‘हामी सबैलाई थाहा छ यो सञ्चार र सूचना प्रविधिका ऐन, कानुनहरु असाध्यै पुराना छन् । र, यो क्षेत्रमा व्यापक रुपमा परिवर्तन भएको छ । र, नयाँ ऐन, कानुन जरुरी छ । यसका निम्ति हामी मन्त्रालयमा गम्भिरतापूर्वक छलफल गर्दैछौं । हामी यसलाई छिटो भन्दा छिटो प्रक्रिया अघि बढाउनेछौं,’ उनले भनिन् ।
यस्तै, दुरसञ्चारसम्बन्धी फोरजी सेवाको देशभर विस्तार र फाइभजी सेवाको लन्च गरेर शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रहरुको पूर्वाधार विकास गरी मुलुकको राजस्व वृद्धिमा योगदान पु¥याउने योजनाका साथ काम भइरहेको मन्त्री शर्माले बताईन् ।











