काठमाडौं । चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुर जिल्लाका आठवटै स्थानीय तहले आइतबार आगामी आर्थिक वर्ष २०८०/०८१ लागि अनुमानित आय व्यय तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन् ।

उदयपुरका सबै पालिकाहरुले आ–आफ्नो भूगोल, जनसङ्ख्या र आवश्यकताका आधारमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन विकास र सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रमहरूलाई मुख्य प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन ।
उदयपुर जिल्लाका आठवटा पालिकामा जम्मा ५ अर्ब ८९ करोड ७८ लाख रुपैया बराबरको अनुमानित वजेट सार्वजनिक गरिएको छ । जस अनुसार त्रियुगा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ४७ करोड रुपैयाको अनुमानित बजेट सार्वजनिक गरेको छ भने कटारी नगरपालिका ८३ करोड ८६ लाख, बेलाका नगरपालिका ७७ करोड, चौदण्डीगढी नगरपालिका ७५ करोड ७३ लाख रुपैयाको बजेट सार्वजनिक गरेको छ ।
त्यस्तै गाउँपालिकातर्फ उदयपुरगढी गाउँपालिकाले ८० करोड २७ लाख, रौतामाई गाउँपालिकाको ५३ करोड ५६ लाख, ताप्ली गाउँपालिकाको ३६ करोड ६ लाख र लिम्चुङ्गबुङ्ग गाउँपालिकाको ३६ करोड ३० लाख रुपैयाको अनुमानित बजेट सार्वजनिक गरिएको छ ।











