धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ससर्तसहित १ अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरले प्राथमिकताका आधारमा क्रमशः पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई बजेट विनियोजन गरेको छ ।

आन्तरिक राजस्वबाट ४२ करोड ७२ लाख ६ हजार, संघीय सरकार अनुदानबाट ९० करोड २ लाख, प्रदेश सरकार अनुदान ४ करोड १ लाख ९२ हजार, संघीय राजस्व बाँडफाँडबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ ।
ससर्त बजेटसहित उपप्रमुख अइन्द्रविक्रम वेघाले उपमहानगरपालिकाको १३ औं नगरसभामा सार्वजनिक गरेको उक्त बजेटमा सबैभन्दा बढी सामाजिक विकासमा ५४ करोड ८० लाख, पूर्वाधार विकासमा ४३ करोड ५१ लाख ५० हजार, क्रमागत आयोजनाका लागि ३२ करोड ४२ लाख ५० हजार, शिक्षासम्बन्धी ससर्त कार्यक्रमका लागि ४५ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
धरान उपमहानगरको आन्तरिक आय २५ करोड रुपैयाँ प्रक्षेपण गरिए पनि २४ करोड कट्न सकेको छैन । गत आर्थिक वर्षमा १ अर्ब ६८ करोडको बजेट विनियोजन गरिएको थियो ।











