
काठमाडौं । बेलायतको आवासीय भिसासम्बन्धी काम गर्दै आएका समी काछी श्रेष्ठ सरकारी कागजात किर्तेमा संलग्न रहेको प्रमाण भेटिएको छ ।
काठमाडौँको ठमेलस्थित ‘श्रेष्ठ करिअर एडभाइजर’ नामक कम्पनीको नाममा श्रेष्ठले बेलायतको आवासीय भिसाका लागि लाहुरेका सन्तानलाई मुद्दा र भिसा प्रक्रियामा सहायता प्रदान गर्दै आएका छन् । यसै क्रममा श्रेष्ठले सरकारी कागजात किर्ते गरेको पाइएको हो ।
यसअघि नै ‘बेलायतको आवासीय भिसाको प्रलोभनमा भूपू गोर्खाका परिवारलाई ठगी’ विषयमा हामीले समाचार प्रकाशित गरिसकेका छौं । उक्त समाचार प्रकाशित भएपछि श्रेष्ठले आफूले कसैलाई नठगेको र कुनै किर्ते कागजात नबनाएको भन्दै खण्डन लेख्दै प्रेस काउन्सिलमा समेत उजुरी दिएका थिए । तर, उनले सरकारी लेटरहेड, छाप र हस्ताक्षर किर्ते गरेर बनाएको सरकारीका कागजात फेला परेको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ पाँचथरका सनिता तामाङ श्रेष्ठको कम्पनीमा आवासीय भिसा प्रक्रियाको सहायताका लागि पुगेका थिए । तामाङलाई श्रेष्ठले ‘अविवाहित प्रमाणपत्र’ बनाइदिने भन्दै खाली कागजातमा हस्ताक्षर गराएर पठाएका थिए ।
त्यसपछि श्रेष्ठ आफैले मिक्लाजुङ–४ को वडा कार्यालयको लेटर हेड, छाप र वडा अध्यक्ष रामकुमार राईको हस्ताक्षर र छाप किर्ते गर्दै सनिताको नाममा अविवाहित प्रमाणपत्र बनाएको भेटिएको हो । तर, मिक्लाजुङ–४ का अध्यक्ष रामकुमार राईले भने वडा कार्यालयबाट उक्त विवरणको कुनै पनि कागजात जारी नगरिएको बताएका छन् ।
अध्यक्ष राईले भने– ‘हाम्रो वडाको लेटर हेड, छाप र मेरो हस्ताक्षर किर्ते भएको यसअघि सम्बन्धित सनिता तामाङबाटै जानकारी प्राप्त भएको थियो । हामीसँग सनिताले अविवाहित प्रमाणीकरण सिफारिस मागेका पनि छैनन्, हामीले सिफारिस गरेका पनि छैनौँ ।’
श्रेष्ठले वडा कार्यालयको लेटर हेड, छाप र वडा अध्यक्षको हस्ताक्षर किर्ते गर्दै २०७८।०९।१९ गते सनिता तामाङको नाममा ‘अविवाहित प्रमाणपत्र’ तयार पारेको देखिन्छ । जुन पत्रमा चलानी नम्बर ४४३ लेखिएको छ ।

श्रेष्ठले आफ्नो नाममा नक्कली कागजात बनाएको थाहा पाएपछि सनिता तामाङले वडा कार्यालय पुगेर २०८०।०२।००५ मा आफूले ‘अविवाहित प्रमाणपत्र’ नमागेको र नलिएको जानकारी गराउँदै निवेदन दिएका छन् ।
सनिताले आफूले वडा कार्यालयबाट जन्म मिति र बेरोजगार अवस्थाबारे प्रमाणित गराएको निवेदनमा उल्लेख गरेका छन् । वडा अध्यक्ष राईले पनि तामाङले प्रमाणित गरेको विवरण यथार्थ रहेको बताएका छन् ।

श्रेष्ठले वडा कार्यालयको लेटर हेड, छाप र वडा अध्यक्षको हस्ताक्षर किर्ते गरेको प्रमाणित गर्ने अर्को तथ्य पनि छ ।
बेलायतको आवासीय भिसाका लागि श्रेष्ठको कम्पनीमा पुगेका २२ जनाभन्दा धेरै ठगिएका थिए । उनीहरूले कारबाहीको माग गर्दै संयुक्त रूपमा नेपाल प्रहरीको केन्द्री अनुसन्धान ब्युरो (सीआइबी)मा निवेदन दिएका थिए ।
यसरी निवेदन दिनेको ११ नम्बरमा सनिताको नाम उल्लेख छ । उक्त निवेदनमा तामाङले ‘अविवाहित प्रमाणपत्र बनाइदिने र खाली पानामा सही गराई राखेको’ कारण उल्लेख गराएका छन् ।
तामाङ लगायतले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको विवरण, वडा कार्यालयमा आफूले अविवाहित प्रमाणीकरणको सिफारिस नमागेको भनेर लेखेको निवेदन र तामाङको नाममा भेटिएको नक्कली अविवाहित सिफारिस हेर्दा श्रेष्ठले किर्ते गरेको थप प्रमाणित हुन्छ ।
श्रेष्ठले किर्ते गरेको अर्को आधार पनि छ । सनिता लगायतले बेलायतको आवासीय भिसा प्रक्रियाका लागि श्रेष्ठको कम्पनी ‘श्रेष्ठ करिअर एडभाइजर’ बाहेक अरू कसैलाई जानकारी गराएका थिएन ।
श्रेष्ठबाटै सम्पूर्ण काम हुन्छ भन्नेमा विस्वस्त रहेका लाहुरेका सन्तानले अन्यत्र प्रोसेस गरेका पनि थिएनन् । त्यसैले यस विषयमा श्रेष्ठको ‘श्रेष्ठ करिअर एडभाइजर’मा आबद्धबाहेक अरूलाई थाहै थिए ।
यस आधारमा पनि सनिता लगायतको नाममा अरू कसैले किर्ते कागजात बनाउने सम्भावना रहँदैन । यस आधारमा पनि श्रेष्ठले नै किर्ते कागजात बनाएको स्पष्ट हुन्छ ।
श्रेष्ठले तामाङको नाममा मात्र नभएर अन्य धेरैको नाममा यसरी नै किर्ते कागजात बनाएको हुनसक्ने आशङ्का गरिएको छ । हामीलाई प्राप्त केही डकुमेन्ट भेरीफइको क्रममा रहेको छ ।
केहीलाई थमाए, केहीलाई अझै झुलाउँदै
गठीएकाहरुले सीआइबीमै उजुरी दिएपछि श्रेष्ठले केहीलाई भने थमाएका छन् । केहीको काम गरिदिएर बेलायत पठाइसकेका छन् । तर, प्रहरीसम्म पुगेका अधिकांश भने अझै सास्ती झेलिरहेका छन् । त्यसमध्येका एक हुन्, खोटाङका भगीराज राई ।
बेलायतको आवासीय भिसाका लागि श्रेष्ठको कम्पनीमा पुगेका भगीराजको नाममा श्रेष्ठ आफैले इमेल आइडी बनाइदिए । त्यसपछि उनको पक्षमा बेलायती अतलतामा मुद्दा प्रक्रिया पनि अघि बढाए ।
श्रेष्ठकै प्रक्रियाबाट भगीराजले मुद्दा जिते । मुद्दा जितेपछि बेलायत जान पाउने भए । बेलायतको होम अफिसबाट श्रेष्ठले बनाएकै इमेलमा ‘ओभरर्टन लेटर’ पठाइदिए । उक्त लेटरको आधारमा निवेदकले ‘भीएचएस’मार्फत बेलायतको आवासीय भिसाका लागि प्रक्रिया बढाउनु पर्ने हुन्छ ।

बेलायतले आवासीय अधिकारसहित बेलायत आउनु भनेर भगीराजलाई पत्र पठाएको लामो समय भइसक्यो । तर, अहिलेसम्म पनि उनले ‘ओभरर्टन लेटर’ पाएका छैनन् । कारण, श्रेष्ठले अहिलेसम्म उक्त इमेलको पासवर्ड आफैले राखेर भगीराजलाई दिएका छैनन् । इमेलको पासवर्ड नभएका कारण उनले ‘ओभरर्टन लेटर’ प्राप्त गर्न नसक्दा उनको बेलायत यात्रा तय हुन सकेको छैन ।
लामो समयदेखि श्रेष्ठबाट पीडित भगीराज राईले भने– ‘समी काछी श्रेष्ठले अहिलेसम्म पनि इमेलको पासवर्ड दिएका छैनन् । इमेलको पासवर्ड नपाएका कारण मैले ‘ओभरर्टन लेटर’ पाएको छैन । जति माग्दा पनि दिन मान्दैनन् ।’
सेटिङ मिलाइदिने भन्दै असुली
श्रेष्ठले भिसा प्रक्रियाका लागि सेटिङ मिलाइदिने भन्दै भूपू लाहुरेका सन्तानबाट लाखौँ रकम असुल्ने गरेको समेत खुलेको छ ।
पीडित भगीराज राईका अनुसार श्रेष्ठले भिसा प्रोसेसका क्रममा भीएचएसमा सेटिङ मिलाउनु पर्ने भन्दै ६९ हजार रुपैयाँ लिएका छन् । श्रेष्ठले पैसा लिएको राईले पुष्टि गरेका छन् ।
श्रेष्ठले राईबाट पैसा लिएको अर्को प्रमाण हो– पीडितले सीआइबीमा दिएको उजुरी ।
पीडितहरूले सीआइबीमा दिएको उजुरीमा भगीराज राईले समी काछी श्रेष्ठको बैङ्क खातामा आफूले साथी टीकाराम श्रेष्ठको एनआइसी बैकको खाताबाट रकम जम्मा गरेको उल्लेख गरेका छन् ।
पीडितले सीआइबीलाई दिएको उजुरीअनुसार यसरी नै विभिन्न शीर्षकमा श्रेष्ठले भूपू राहुरेको सन्तानबाट अवैध रूपमा लाखौँ रकम उठाएको देखिन्छ ।
श्रेष्ठले ‘श्रेष्ठ करिअर एडभाइजर’ नामक कम्पनीको नामबाट धेरै भूपू गोर्खा लाहुरेका सन्तानको आवासीय भिसा प्रक्रियाको काम गरेका छन् ।
यसरी आफ्नो कम्पनीमा आएका अधिकांश लाहुरेका सन्तानको इमेल आइडी आफैले बनाइदिएका छन् । पीडितले सीआइबीमा दिएको उजुरी हेर्दा अधिकांशले ‘समी काछी श्रेष्ठ आफैले इमेल आइडी बनाइदिएको तर ओर्भटन लेटर आएपछि इमेल आइडी र पासवर्ड नदिएर सास्ती दिएको’ उल्लेख गरेका छन् ।
साथै, अधिकांश निवेदकले अविवाहित लगायत आवश्यक कागजातका लागि प्रक्रिया गरिदिने भन्दै रकम लिएको उजुरीमा उल्लेख गरेका छन् ।










