Logo
Logo

दुई कलाकार एकैसाथ जलिरहँदा… (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३० मंसिर । जब पशुपति आर्यघाट स्तब्ध बन्यो । जहाँ दुई कलाकारको सामुहिक अन्त्येष्टि भइरहेको थियो । कल्पना समेत गर्न नसक्ने घटना सोमबार भएको थियो । चलचित्र विकास विकास बोर्डका अध्यक्ष तथा बरिष्ठ कलाकार केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि भइरहँदा उपस्थित शुभचिन्तक तथा आफन्त भावविह्वल भएका थिए ।

बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति ५३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई राति नै चावहिलस्थित ओम अस्पताल पु¥याइएको थियो । अस्पताल पुग्दासम्म उनी अचेत अवस्थामा रहेको परिवारले जनाएको छ । अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको थियो । कलाकार तथा अध्यक्ष भट्टराईले आइतबार रातिमात्र कलाकार क्षेत्रीलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए । तर, सोच्नै नसकिने गरी नै क्षेत्रीसँग सामुहिक अन्त्येष्टि गर्नु परेकोे छ ।


भट्टराई र क्षेत्रीको निधनले चलचित्र क्षेत्र शोकमा परेको छ । अभिनेता क्षेत्रीको निधन भएको भोलिपल्टै चलचित्र विकास बोर्डको नेतृत्व सम्हालिरहनुभएका भट्टराईको समेत निधनले चलचित्र क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ ।
क्षेत्री शनिबार सुतिरहेको अवस्थामा मृत भेटिएका थिए । उनको शव परीक्षणको लागि अस्पतालमै राखिएको थियो । सोमबार दिउँसो २ बजे दुवै अभिनेताको शव अन्तिम श्रद्धाञ्जलिका लागि चलचित्र विकास बोर्डमा ल्याइएको थियो ।
भट्टराई र क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शेर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुःख व्यक्त गरेका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले चलचित्र विकास बोर्डमा पुगी अन्तिम श्रद्धाञ्जलि दिए ।
सयौँको संख्यामा आएका चलचित्रकर्मी, अन्य क्षेत्रका कलाकार, शुभेच्छुकहरुले श्रद्धाञ्जलि दिए । जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र राईले महासंघका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका भट्टराईको पार्थिव शरीरमा नेकपाको झण्डा ओडाई अन्तिम श्रद्धाञ्जलि दिइएको छ ।


अध्यक्ष राईले भट्टराईको निधनले चलचित्र क्षेत्रसँगै सिंगो सांस्कृतिक क्षेत्रमा ठूलो क्षति पुगेको बताए । ‘उनी बहुआयामिक व्यक्ति हुनुहुन्थ्यो’ राईले भने, ‘प्रिय व्यक्ति गुमाउनु पर्दा निकै पीडाबोध भइरहेको छ ।’ सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्ष भइसकेपछि भट्टराईले धेरै सुधारका काम थालेको स्मरण गरे ।
‘उहाँमा कुर्सीमा बस्दा केही राम्रा काम गरेर देखाउनुपर्छ भन्ने भावना थियो’ डिसीले भने, ‘उनका अधुरा सपना पूरा गर्न हामी लागिपर्नेछौँ ।’ अभिनेत्री सरिता लामिछानेले अभिनेता र निर्मातासँगै एउटा कुशल अभिभावक गुमाउनु परेको बताए । उनले एकैपटक दुईजना असल कलाकार गुमाउनु पर्दा चलचित्र क्षेत्रले अपूरणीय क्षति ब्यहोर्नु परेको बताए ।


गत ७ चैतमा भट्टराईलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । उनका श्रीमती र एक छोरा छन् । उनले थुप्रै फिल्ममा अभिनेताको भूमिका निर्वाह गरेका छन् । उनी आफैँ निर्माण गरेका अधिकांश फिल्मले सफलता हासिल गरेका छन् । भट्टराईले आफ्नो मान्छे, पाहुना, कर्मयोद्घा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल, यात्रालगायतका चलचित्र निर्माण गरेका छन् ।
त्यस्तै दिवंगत कलाकार क्षेत्री नेपाली चलचित्र क्षेत्रमा खलपात्रका रुपमा चर्चित थिए । उनले अभिनय गरेका अधिंकाश चलचित्र हिट छन् । उनले पछिल्लो समय ‘छ माया छपक्कै’ अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्