Logo
Logo

नेताको ‘नौटङ्की’


5.7k
Shares

काठमाडौं । आज असार १५ अर्थात धान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधिः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज (शुक्रबार) २०औँ राष्ट्रिय धान दिवस मनाइएको हो ।  

नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको थियो । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । 

यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । किसन मात्रै नभएर आज ‘राष्ट्रिय धान दिवस’ भन्दै देशभर उच्चपदस्थ अधिकारीहरूले पनि तामझामका साथ हिलोमा पस्ने र धान रोप्ने काम गरेका छन् ।

कसले कहाँ रोपो धान ? 

चितवनमा तीन नेताको रोपाइँ 

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, अर्का पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा धान दिवस मनाएका छन् । उनीहरूले चितवनको छुट्टाछुट्टै वडाहरूमा धान दिवस मनाएका हुन् । 

एमाले अध्यक्ष ओलीले भरतपुर– २४, पूर्वप्रधानमन्त्री डा. भट्टराईले भरतपुर– २० र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भरतपुर– १३ मा धान दिवस मनाएका हुन् । ओलीले चितवनस्थित केरुङ्गा सामूहिक कृषि फार्मको आयोजित कार्यक्रममा धान रोपेका छन् । 

कृषि मन्त्रीको रोपाइँ खुमलटारमा 

कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल भने नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रले खुमलटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा सहभागी भएका छन् । महोत्सवमा मन्त्री भुसालले सुरुमा हातले र पछि राइस ट्रान्सप्लानरले रोपाइँ गरेका थिए ।

पर्यटनमन्त्री गृहजिल्ला पुगे 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती रोपाइँ गर्न गृहजिल्ला भोजपुर पुगेका छन् । उनले भोजपुरको छिनामखुको तीस मुरे ठाउँमा धान दिवस मनाएका छन् । 

‘विप्लव’को ४० बिघामा रोपाइँ  
नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कपिलवस्तुमा धान रोपेर धान दिवस मनाएका छन् । धान दिवसको उपलक्ष्यमा कपिलवस्तुको शिवगढीमा विप्लवसहितका नेता कार्यकर्ताले धान रोपेका हुन् । 

आत्मनिर्भर पार्टी आत्मनिर्भर उत्पादन भन्ने मूल नाराका साथ विप्लवले धान रोपाइमा सहभागी भएका हुन् । पार्टीको निर्णय बमोजिम बर्दिया, कपिलवस्तु, चितवन सुनसरी, सिन्धुली र सल्यानमा ४० बिघामा धान रोपिएको नेकपाले जनाएको छ । आफूहरूको यो अभियानले किसानलाई उत्प्रेरित गर्नुका साथै कृषिमा थोरै भएपनि योगदान गर्ने अपेक्षा लिएको विप्लवले बताएका छन् । 

यस्तै अखिल नेपाल किसान महासंघ काभ्रेको आयोजनामा नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले आफ्नै गृहजिल्ला काभ्रेमा धान रोपेका छन् । त्यसैगरी रास्वपाका सांसद डा. तोसिमा कार्कीले गोदावरी नगरपालिकाका–१२ थेचोमा धान रोपेका छन् । 

कृषिप्रधान मुलुकमा धानकै नाममा एक दिन विशेष उत्सव मनाउनुको आफ्नै अर्थ छ  । तर धानसँग अन्तरसम्बन्धित वर्षौँदेखिको मुद्दालाई सम्बोधन गर्ने दिशामा कुनै पाइला नचाली खाली तामझामका साथ दिवस मात्रै मनाउनुको चाहिँ कुनै अर्थ छैन  । नेताहरूको उपस्थितिमा तडकभडक रूपमा धान दिवस मनाइएपनि किसानलाई भने १५ असारमा मलकै चिन्ता छ । त्यसैले, परिणाम दिने कार्यमै सम्बद्ध पक्षको थप मिहिनेत आवश्यक छ । 

परिणाम दिने काम नगर्ने, देखावटी कार्यक्रम मात्रै गर्ने कार्यले धानको उत्पादन बढाउँदैन  । यसकारण, आजको धान दिवसलाई सार्थक बनाउन धानबालीका प्रमुख समस्याहरू सावधानका निम्ति जोड दिनैपर्छ  ।

प्रतिक्रिया दिनुहोस्