Logo
Logo

इन्सपेक्टरको सरुवा–बढुवामा आइजिपीलाई सकस




काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले यो साता इन्सपेक्टरको सरुवा तयारी गरेका छन् । अत्याधिक चलखेलका कारण चैतमा हुनुपर्ने सरुवा अझै हुन सकेको छैन ।

चीन भ्रमणबाट फर्किएका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई विमानस्थलमा स्वागत गर्न पुगेका प्रहरी महानिरीक्षक बसन्त कुँवर लगायत अधिकारी


गत साता नै सरुवाको तयारी भएपनि मानवस्रोत विभागका एआइजी सन्दीप भण्डारी विदेश भएकाले निर्णय भएन । अर्काेतर्फ गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीन भ्रमणमा गएका थिए । गृहमन्त्री तथा एआइजी स्वदेश फर्किसकेका छन् ।
इन्सपेक्टर सरुवामा प्रहरी महानिरीक्षक कुँवरमाथि अत्याधिक दबाब छ । एकथरीले विगतमा सरुवा मापदण्डविपरीत काजमा गएकालाई त्यही राख्न दबाब दिइरहेका छन् । तर, मापदण्डअनुसार उनीहरुलाई त्यहाँ राख्न मिल्दैन । सोही कारण सरुवा निस्कन नसकेको हो ।


सरुवा नभएपछि आइजिपीले पनि काज निकाल्न थालेका छन् । गत साता ६ इन्सपेक्टरलाई विभिन्न कार्यालयमा इन्चार्जका रुपमा काजमा खटाइएको छ ।

इन्सपेक्टर लक्ष्मण ओलीलाई इप्रका कृष्णनगर, कपिलवस्तु, सन्तोष न्यौपानेलाई प्रहरी प्रभाग बलम्बु, काठमाडौं, दाताराम अधिकारीलाई इप्रका सानोपोखरा, मकवानपुर, धनबहादुर बोहरालाई तनहुँस्थित प्रहरी विद्यालय, शुभेश अधिकारीलाई इप्रका कल्याणपुर सप्तरी र दीपेन्द्र श्रेष्ठलाई इप्रका गीतानगर चितवनमा काजमा खटाइएको छ ।
प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर, डिएसपी र एसपीको सरुवा तयारी गरेको छ । साथै बरिष्ठ सइबाट इन्सपेक्टरमा पनि बढुवाको तयारी छ । ४० पदमा दुई सयभन्दा धेरै प्रतिस्पर्धामा हुँदा बढुवामा पनि समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्