Logo
Logo

विवादित उपसचिवलाई आयोजना प्रमुख बनाउन सहरी विकास मन्त्रालयमा चलखेल




काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा सहसचिवको दरबन्दी छ । सहसचिवको दरबन्दी रहेको समितिमा उपसचिव(डीई) सुवास बस्नेतलाई आयोजना प्रमुख बनाएर पठाउनका लागि सहरी विकास मन्त्री सीता गुरुङसमक्ष टिप्पणी उठाएर पठाइएको छ ।


सहरी विकास मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव प्रदीप परियारले मन्त्रीको सचिवालयलाई प्रभावमा पारेर प्रभावमा पारी उपसचिव बस्नेतलाई अधिकार सम्पन्न बागमतीको आयोजना प्रमुख बनाउन लागेका हुन् । असार सुरुमै उनलाई बागमतीमा आयोजना प्रमुख बनाउन परियार र गुरुङले मन्त्रीकोमा प्रस्ताव लगे पनि उनले सदर गरेकी छैनन् ।

मन्त्रीकै टेबुलमा उक्त प्रस्ताव छ । असार मसान्त अगाडि आयोजना प्रमुख सरुवा गर्नु उपयुक्त नहुने सुझावपछि उनले सदर नगरेको समाचार स्रोत बताउँछ । कांग्रेस सभापति शेरबहादुर देउवाका निजी सचिव भानु देउवाको समेत नाम लिएर मन्त्रालयका सहसचिव परियार मन्त्रीमाथि दबाब बढाएर असारमै बस्नेतलाई पठाउने र दरबन्दीका आयोजना प्रमुख रविन्द्र बोहरालाई हटाउने चलखेल गरिरहेका छन् । जसमा १० लाखको चलखेल भएको चर्चा सहरी विकास मन्त्रालयमा छ । मन्त्रीबाट फाइल भने सदर हुन सकिरहेको छैन ।

चलखेल भएको थाहा पाएपछि मन्त्री गुरुङले भने उक्त फाइल नै रोकेका छन् । मन्त्री गुरुङ केही राम्रो काम गरेर देखाउने सोचमा रहेकाले उक्त चलखेल रोकिएको हो ।

सुवास बस्नेत निजामती प्रशासनमा अनुशासनहीन कर्मचारीका रुपमा चिनिन्छन् । उनले धादिङ डिभिजनदेखि भवन विभाग र बागमतीमा कार्यरत रहे पनि सरुवा हुँदा रमाना समेत नलिएको आरोप छ । उनले बरबुझारथ समेत नगरी बागमतीबाट गाडी नै लिएर गायब भएपछि सहसचिव परियारले नै गएको फागुनमा उनको गाडी ट्राफिकलाई पत्र लेखेर जफत गरी तानेका थिए । तर अनुशासन कायम गर्नुपर्ने जिम्मेवारीसहित मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख परियारले तिनै अनुशासनहीन बस्नेतलाई बागमतीमा पठाउन लागेका छन् ।


यसैबीच, पूर्वमुख्यसचिव शंकरदास बैरागीको जिल्लाबासी भएकाले सहरी विकास मन्त्रायमा हालीमुहाली गर्ने अवसर पाएका परियारले अधिकार सम्पन्न बागमतीको आयोजना प्रमुखको गाडी नै हडपेर प्रयोग गर्दैआएका छन् । अधिकार सम्पन्न बागमतीका आयोजना प्रमुखले प्रयोग गर्ने बा २ झ ३७०७ र्याफो गाडी परियारले १ बर्षभन्दा बढी समयदेखि प्रयोग गरिरहेका छन् ।


कर्मचारी प्रशासनका सहसचिव परियारले मन्त्रालयका शाखा अधिकृत डिल्लीराज श्रेष्ठ र रमाकान्त अर्यालमार्फत् सरुवामा दररेट अनुसार रकम उठाउने गरेको आरोप छ । राष्ट्रिय आवास कम्पनीका अध्यक्ष सन्जीव मिश्रलाई कार्यकारी अधिकार दिने भनेर पनि अधिकृतद्वय श्रेष्ठ र अर्यालबाट दररेट लिएको आरोप छ । सहसचिव परियारले श्रेष्ठ र अर्यालमार्फत् डिल गर्नका लागि छुट्टै गोप्य कोठा नै बनाएका छन् । मन्त्रालयका हरेक सरुवामा यिनै श्रेष्ठ र अर्यालमार्फत् नै परियारले लाभ लिंदै सदर गर्ने गरेका छन् ।


नेकपा एकीकृत समाजवादीका मन्त्री रामकुमारी झाँक्री र मेटमणि चौधरी हुँदा सो पार्टीको निकट बनेर सहरी विकासमा आएका परियार माओवादी भए । माओवादी हुँदै अहिले नेपाली कांग्रेसको निकट भएका छन् । मौसमअनुसार जुन पार्टीको मन्त्री भयो, सोही पार्टीको भएर उनले सहरीमा ढलीमली गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्