Logo
Logo

भूमाफिया र महानगरविरुद्ध सर्वसाधरण सडकमा




काठमाडौं । भूमाफियाको प्रभावमा परेर प्रहरी कार्यालय रहेको सरकारी जग्गामा बिजनेश कम्प्लेक्स बनाउन लागिएको भन्दै ललितपुरका स्थानीयहरु सडकमा उत्रिएका छन् । शुक्रबार स्थानीयहरुले प्रहरी कार्यालय नभत्काउन माग गरी सडकमा प्रदर्शन गरेका छन् ।


ललितपुरका एक दर्जनभन्दा धेरै संघसंस्थाले लगनखेल बसपार्कस्थित प्रहरी कार्यालय हटाउने निर्णयविरुद्ध संघर्ष गर्दै आएका हुन् । महानगरले अझे निर्णय रद्द नगरेपछि शुक्रबार सडकमै आएका हुन् ।

्चलखेलका आधारमा सरकारी जग्गामा व्यापारिक भवन बनाउन लागिएको भन्दै यसअघि उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिइसकेका छन् ।
महानगरपालिकाले केही व्यापारीको स्वार्थमा सरकारी जग्गामा व्यापारिक कम्प्लेक्स बनाएर प्रहरी कार्यालय हटाउन लागिएको विरोध हुँदै आउको छ । यसमा एकातर्फ भ्रष्टाचार रहेको र अर्काेतर्फ शान्ति सुरक्षा समेत प्रभावित हुने भएपछि स्थानीयहरु अख्तियारसम्म पुगेका छन् ।
लगनखेल बसपार्कसँगै जोडिएको करिब तीन रोपनी जग्गामा महानगरपालिकाले व्यापारिक कम्प्लेक्स बनाउने निर्णय गरेको थियो । जहाँ रहेको १२ नम्बर वडा कार्यालय हटाइएको छ भने प्रहरी कार्यालय पनि हटाउन दबाब दिइएको छ । तर, स्थानीयले प्रहरी कार्यालय नहटाउन माग गरेका छन् । व्यापारी केबी महर्जनको सो जग्गासँगै अर्काे जग्गा भएको र सो जग्गालाई बाटो ठूलो बनाउनकै लागि व्यापारिक कम्प्लेक्स बनाउन लागिएको हो ।

महानगरपालिकाले गत भदौमा सो जग्गामा व्यापारिक कम्प्लेक्स बनाउने सम्झौता गरेको थियो । तर, वडा प्रहरी कार्यालय हटाउन सकेको छैन । सो कार्यालय हटाउनका लागि भन्दै १९ वैशाखमा महानगरपालिकाले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई समेत लगेर हस्ताक्षर गराएको थियो । जसकारण महानिरीक्षक कुँवर समेत विवादमा मुछिएका छन् । उनी पनि व्यापारीको प्रभावमा परेको आरोप स्थानीयले लगाएका छन् । स्थानीयको विरोध हुँदा हुँदै आफैं गएर प्रहरी कार्यालय हटाउन उनले हस्ताक्षर गरिदिएका थिए ।


त्यसविरुद्ध लगनखेल समाज, लगनेश्वर महादेव यातायात प्रालि, करुणा टोल सुधार समिति, कुमारीपाटी क्लब, लगनखेल भजन मण्डल, बुद्धि विकास मण्डल, हनुमान सेवा केन्द्र, लगनखेल युथ क्लब, लगनखेल महिला समूह थटी टोल सुधार समितिलगायतले अख्तियारमा उजुरी गरेका हुन् । महानगरपालिका र केही प्रहरी व्यापारी महर्जनसँग मिलेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्