काठमाडौं, २ पुस ।
प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा लगिएको प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकेर मुद्दा दायरको तयारी गरेको छ ।
मुद्दा दायरको तयारी भएसँगै दौडधुप बढेको छ । स्रोतका अनुसार केही जग्गाधनीलाई जोगाउनका लागि दौडधुप सुरु भएको हो । त्यो जग्गा देशका केही चर्चित व्यापारीहरुको नाममा छ ।

ती व्यापारीहरुले आफुहरुलाई मुद्दा नचलाउन बिचौलियाहरु प्रयोग गरिरहेका छन् । अख्तियारमा विज्ञका रुपमा नियुक्त भएका कतिपय व्यक्तिहरुले समेत ती व्यापारीहरुसँग नियमित भेटघाट गर्दै आएको स्रोत बताउँछ । प्रमुख आयुक्त घिमिरेका आफन्तहरुमार्फत समेत यस्तो चलखेल चलिरहेको छ ।
सो जग्गा सरकारको नाममा फिर्ता ल्याउन जग्गाधनीलाई समेत मुद्दा दायर गर्नुपर्ने अवस्था छ । ३÷४ जनापछि जग्गा किन्ने व्यक्तिहरु माफिया समूहमा पर्ने कम सम्भावना भएकाले दुई तहसम्मकालाई मुद्दा चलाउनेबारे अख्तियारमा छलफल भइरहेको छ । राणा परिवार तथा मोहीबाट जग्गा किन्नेलाई मात्र मुद्दा चलाउने र त्यसपछि जग्गा किन्नेहरुलाई मुद्दा नचलाउने भन्दै केही व्यक्तिहरुले डिल सुरु गरेका हुन् ।
सो प्रकरणमा राजनीतिक नेतृत्वलाई पनि नछुने अख्तियारको तयारी छ । तर, तत्कालिन सचिवको हैसियतमा अख्तियारकै पूर्व प्रमुख आयुक्त दीप बस्नेत, पूर्व मन्त्री समेत रहेका छवि पन्त, दिनेशहरी अधिकारीविरुद्ध भने मुद्दा दायर हुने भएको छ । त्यस्तै मालपोतका दुई दर्जन कर्मचारी पनि फन्दामा पर्ने भएका छन् । पूर्व मुख्यसचिव लिलामणि पौडेलसँग सोधपुछ भएपनि उनले मन्त्रिपरिषद्को निर्णय पत्राचार गरेकाले मुद्दा चल्ने अवस्था छैन ।
यो प्रकरणमा एक सय भन्दा धेरैविरुद्ध मुद्दा चल्ने आयोगका ए अधिकारीले बताए ।












