Logo
Logo

गठबन्धनको बैठक बस्दै, कोशी प्रदेश सरकार गठनबारे छलफल हुने


2k
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्न लागेको हो ।

आजको बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल हुने कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् ।

केन्द्रीय सत्ता गठबन्धन सम्बद्ध जसपाले पहिचान पक्षधरको आन्दोलनको सम्बोधन नहुन्जेल कुनै पनि दललाई सरकार गठनका लागि समर्थन नगर्ने अडानमा लिएको छ । साथै सरकारको नेतृत्व कांग्रेस र माओवादीमध्ये पहिले कसले गर्ने भनेर विवाद छ । सोही विषय टुंगो लागाउन आज सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्