Logo
Logo

प्रहरीमा ‘गाईजात्रा’ ?


- दृष्टि न्युज/संवाददाता

504
Shares

काठमाडौं, २ पुस ।
नेपाल प्रहरीको बढुवामा त सिनियर–जुनियरको मान्यता र महत्व हराउन थालिसक्यो । सत्तासँग नजिक हुने व्यक्तिको ब्याच नै उछिनेर बढुवा हुन थालिसकेको छ । अब सरुवामा समेत त्यस्तै अवस्था आउन थालेको छ । जुनियरको कमाण्डमा सिनियरहरु चल्नुपर्ने अवस्था प्रहरीमा सिर्जना भएको छ ।


बुधबारको गृह मन्त्रालयले गरेको डिआईजी सरुवाले यस्तै अवस्था आएको छ । गृहले महानगरीय प्रहरी कार्यालयको प्रमुखमा डिआईजी विश्वराज पोखरेललाई खटाएको छ । जबकी उनीभन्दा सिनियर डिआईजी सूर्य उपाध्याय विमानस्थल प्रहरीको प्रमुख छन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालय महानगरीय प्रहरी कार्यालय अन्र्तगत पर्दछन् । अब डिआईजी उपाध्यायले आफूभन्दा जुनियर डिआईजी पोखरेललाई दैनिक ब्रिफिङ गर्नुपर्ने भएको छ । गत वर्ष आफुभन्दा जुनियर डिआईजी शैलेश थापालाई मेट्रोमा सरुवा गरेपछि शेरबहादुर बस्नेतले विमानस्थल छाडेका थिए । तर, उपाध्यायले के गर्छन् हेर्न बाँकी छ ।
त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखामा पनि समस्या हुने देखिएको छ । दुवै कार्यालयमा पोखरेलकै ब्याची एसएसपीहरु छन् । परिसरका एसएसपी उत्तम सुवेदी र महाशाखाका एसएसपी सहकुल थापा पोखरलकै ब्याची हुन् । पोखरेललाई सरकारले बरियता मिचेर डिआईजीमा बढुवा गरेको थियो । अहिले सरुवामा पनि संगठनमा चेन अफ कमाण्ड ध्वस्त बनाउन खोजिएको छ । जसको असर शान्ति सुरक्षामा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ । ‘प्रहरीमा यस्तो गाईजात्रा कहिल्यै देखिएको थिएन,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारी भन्छन्,‘प्रहरीमा शक्ति र पैसाको मात्र महत्व हुन थाल्यो ।’

प्रतिक्रिया दिनुहोस्