Logo
Logo

प्रितम सिंहबारे प्रधानमन्त्रीको अभिव्यक्तिले दलहरु तरंगित


13.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘आफुलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरैपटक दिल्ली पुगेको’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा तरंग पैदा भएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ ले सरदार प्रीतम सिंहको प्रशंसा गर्दै आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको स्मरण गरेका थिए ।

‘उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेतासँग पनि लगातार छलफल गर्नुभयो । राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ उहाँ,’ सिंहको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले भने ।

यो अभिव्यक्तिपछि कतिपयले प्रधानमन्त्री प्रचण्डले विवादस्पद अभिव्यक्ति दिएको भन्दै आलोचनासमेत सुरू गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त संसदीय दलको बैठक नै बोलाएको छ ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले आज दिउँसो १:३० बजे सिंहदरबारमा संसदीय दल बैठक बोलाएको हो । उसले संसद बैठकमा प्रधानमन्त्रीले दिएकाे अभिव्यक्तिको विरोध गर्ने तयारी गरेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीले प्रितम सिंहलाई जोडेर दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् । प्रधानमन्त्रीले सार्वजनिक मन्चबाटै उनको प्रशंसा गरेपछि सरदार प्रीतम सिंहबारे सोध्ने/खोज्नेहरूको सङ्ख्या पनि बढेको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारत धाउने सरदार प्रीतम सिंह को हुन् त ?

सरदार प्रीतम सिंहको जन्मघर भारतको जम्मू कश्मीर हो । उनी पेशाले पाइलट थिए । भारतमा जन्मिए पनि उनले ७० वर्षदेखि कर्मभूमि नेपाललाई बनाए । प्रीतम सिंहले नेपाल पब्लिक मोटर्स सर्भिस कम्पनी खोलेर यातायातका माध्यमबाट नेपालको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

एक बखत; प्रीतम सिंह, उनका बुवा कहन सिंहसहित स–परिवार नेपाल घुम्न आएका थिए । त्यसबेला नेपालका यातायात क्षेत्र, सडक तथा व्यावसायमा सम्भावना देखेपछि उनी पुन: दोस्रो पटक नेपाल आए ।

त्यसेबला उनले राजा महेन्द्रसँग भेट गरेका थिए । पछि राजा महेन्द्र जम्मूको अमरनाथ यात्रामा जाँदा उनीहरुबीच दोस्रो पटक भेट भयो । त्यसपछि महेन्द्रले नेपालमा व्यवसाय गर्न सिंहलाई आग्रह गरेका थिए ।

त्यही प्रस्तावपछि प्रीतम सिंहले नेपाल आएर व्यवसाय सुरू गरेका हुन् । उनी बुबा कहनसिंहसँगै ट्रक लिएर नेपाल भित्रिएका थिए । नेपालमा भित्रिएको त्यो नै पहिलो ट्रक थियो । त्यही बेलादेखि नेपालमा सार्वजनिक ढुवानीको जग बसेको बताइन्छ।

यसपछि उनले नेपालको यातायात क्षेत्रमा मात्रै होइन, शिक्षा क्षेत्रमा समेत योगदान दिएका छन् । उनले स्थापना गरेको मोर्डन इन्डियन इंग्लिस स्कूलले शिक्षा क्षेत्रमा धेरै योगदान दिएको छ ।

उनले भन्ने गरेका छन्, ‘मैले नेपालको यातायात क्षेत्रमा झन्डै २५ प्रतिशत योगदान दिएँ होला ।’ प्रीतम सिंहको राजा महेन्द्रसँग मात्रै होइन, हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि राम्रो सम्बन्ध छ ।

प्रचण्डले गरेकै जनआन्दोलनहरूका कारण राजतन्त्र गर्ल्यागुर्लुम ढलेको देखे साक्षी एक प्रीतम सिंह पनि हुन् ।प्रचण्डलाई उनले शान्ति प्रक्रियामा आएसँगै भेटेका हुन् । प्रचण्डसँग अहिले पनि उनको भेटघाट भइरहन्छ ।

प्रतिक्रिया दिनुहोस्