Logo
Logo

प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनें भन्नुभएको छैन : गृहमन्त्री


1.3k
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारतको सहयोगमा प्रधानमन्त्री बनेको भन्ने अभिव्यक्ति नदिएको बताएका छन् ।

बिहीबार बिहान चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको बचाउ गर्दै भारतको सहयोगमा प्रधानमन्त्री भएको भन्ने अभिव्यक्ति नदिएको दाबी गरेका हुन् । यद्यपि यसबारे प्रधानमन्त्रीले नै स्पष्ट पार्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सोमबार एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक भारत गएको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेपछि गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्रीको बचाउ गर्दै यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीले मैले नेपालको प्रधानमन्त्री हुन विदेशमा मान्छे पठाएको थिएँ, त्यसको सहयोगबाट म प्रधानमन्त्री भएको हुँ भनेर कहीँ भन्नुभएको छैन । यसबारे म सँग कुरा पनि भएको छैन,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डको उक्त विवादित अभिव्यक्ति देशहितविरुद्ध रहेको भन्दै नेकपा एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने अडान राखेर संसद् बैठक अवरुद्ध गरेको छ । उपप्रधानमन्त्री श्रेष्ठले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्नु संसदीय मान्यताविपरितको कुरा रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्