काठमाडौं, ४ पुस ।
भारतसँग सीमा विवाद बढेपछि सरकारले एकैपटक सीमामा एक सय १४ वटा बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गर्ने निर्णय गरेको छ । चीनसँगको सीमानामा चार तथा भारतसँगको सीमानामा एक सय १० वटा बिओपी थप गर्ने निर्णण भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

यसअघि सीमामा सशस्त्र प्रहरी बलअन्र्तगत एक सय सातवटा बिओपी थिए । एकैपटक एक सय १४ थप भएसँगै भारतसँगको सीमामा अब सात हजार पाँच सय सशस्त्र प्रहरी बल तैनाथ हुनेछ । यद्यपि, यो भारतले नेपालको सीमामा खटाउँदै आएको सशस्त्र सीमा बल (एसएसबी) को तुलनामा थोरै हो । नेपाल र भुटानको सीमामा भारतले ९४ हजार एसएसबी खटाएको छ ।
दार्चुलाको कालापानीमा भारतको अतिक्रमणको विषय चर्किएपछि सीमा सुरक्षा बलियो बनाउन भन्दै बिओपी थप गर्न लागिएको हो । नयाँ दरबन्दी सिर्जना गरेर बिओपी थप्न लागिएको भने होइन, अहिलेकै दरबन्दी समायोजन गरेर बिओपी थप्ने निर्णय भएको हो । औद्योगिक, राजस्व तथा भन्सार गुल्ममा कार्यरत सशस्त्र प्रहरीको दरबन्दी कटौती गरेर बिओपी स्थापना गर्न लागिएको हो ।
खासगरी, तराई क्षेत्रका औद्योगिक क्षेत्रमा सशस्त्र समूह तथा अन्य आपराधिक समूहले धम्की र चन्दा आतंक मच्चाएपछि सरकारले उद्योगको सुरक्षाका लागि गुल्म स्थापना गरेको थियो । पछिल्लो समय उद्योग क्षेत्रमा सुरक्षाको ठूलो समस्या नभएकाले सरकारले त्यहाँबाट दरबन्दी कटौती गर्न लागेको हो ।
चारवटा बिओपी चीनको सिमानामा
स्थापना गर्न लागिएका बिओपीमध्ये चारवटा चीनसँगको सिमानामा राख्न लागिएको हो । दार्चुलाको कालापानी, हुम्लाको हिल्सा मुस्ताङको कोरला, संखुवासभाको किमाथांकामा बिओपी स्थापना गर्न लागिएको हो । जसमध्ये कालापानी, कोरला र किमाथांकामा बिओपी राख्ने अन्तिम तयारी भइरहेको गृह मन्त्रालयका प्रवक्ता शर्माले बताए । यद्यपि, ती क्षेत्रमा बिओपी स्थापना भौगोलिक दृष्टिकोणले निकै चुनौतीपूर्ण छ । धेरैजसो समय हिमपात हुने र सडक बाटोसमेत भएकाले समस्या भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । बिरामी भएमा तत्काल हेलिकोप्टरबाट उद्धार गर्ने व्यवस्था मिलाउन सशस्त्र प्रहरीले माग गरेको छ ।












