काठमाडौं । कोशी प्रदेश सरकार गठनलाई लिएर नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले असन्तुष्टि जनाएको छ ।
कोशी प्रदेश सन्दर्भमा समाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले सरकार गठनका लागि सभामुखको हस्ताक्षरको प्रयोग गलत भएको बताएका हुन् । सरकार गठनमा सभामुखको प्रयोग हुनु संसदीय लोकतन्त्रको मर्यादा विपरित भएको उनले बताएका छन् ।

उनले भनेका छन्– ‘दलले आफ्नो सदस्य सङ्ख्यामा सभामुखलाई समेत गणना गरी पठाउने कुराको संवैधानिक व्याख्या छैन, तर, सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्तविपरीत हुन जान्छ ।’
प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोही पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाई जानकारी दिन सकिने व्यवस्था रहेको पनि उनले उल्लेख गरेका छन् ।
सभामुखको संवैधानिक भूमिका व्यवस्थापिका संसद्को कार्य सञ्चालन गर्नु र अध्यक्षता गर्नु भएको उनले उल्लेख गरेका छन् । उनी थप्छन्, ‘यदि, संसद्मा पेस भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्नेबाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जान्छ ।’
कोशी प्रदेशमा कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दा सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेका छन् ।
थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।
थापा आजै मुख्यमन्त्री नियुक्ति भइसकेका छन् ।










