Logo
Logo

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज घरेलु टोली थाइल्याण्डलाई नौ विकेटले पराजित गर्दै नेपालले लगातार चार खेलमा जित निकालेको हो ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३.३ ओभरमा पूरा ग¥यो । नेपालका लागि ममताकुमारी चौधरीले आठ रन बनाउँदा नेरी थापाले पाँच र डोली भट्टले दुई रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली थाइल्याण्डले नेपाली बलरसामू निरीह बन्दै १९ रनमा समेटिएको थियो । थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी आरती बिडारीले तीन विकेट लिइन् । इन्दु बर्मा र सरिता मगरले दुई÷दुई विकेट लिँदा रूविना क्षेत्री, सोनु खड्का र सीता रानामगरले एक÷एक विकेट लिए ।

घरेलु टोलीका लागि तान्चानोक फोप्लुकले सर्वाधिक चार रन बनाइन् । नेपालले अतिरिक्त पाँच रन दिएको थियो । थाइल्याण्डका पाँच खेलाडी शून्यमा आउट भएका थिए । यो सँगै लगातार चार खेलमा जित निकालेको नेपाल समूह विजेताको रूपमा सेमिफाइनल पुगेको छ ।

प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) यसअघि नै प्रवेश गरिसकेका थिए । समूह उपविजेताका रूपमा युएई सेमिफाइनलमा पुगेको छ । जारी प्रतियोगितामा चार खेल खेलेको नेपालले चारै खेलमा जित हात पार्दै आठ अङ्क जोडेको छ । युएइले चार खेलबाट छ अङ्क जोडेको छ ।

पहिलो खेलमा गत शनिबार चीनलाई १० विकेटले पराजित गरेको नेपाली टोलीले दोस्रो खेलमा आइतबार मलेशियालाई र तेस्रो खेलमा बलियो टोली यूएइलाई पराजित गर्न सफल भएको थियो ।

राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोलीले करीब दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । नोपली महिला टोलीले सन् २०१७ को नोभेम्बरमा आइसिसी टि–२० विश्वकपको एशिया क्षेत्रको क्वालिफायर खेलेपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन ।

राष्ट्रिय क्रिकेट टोलीलाई लामो समय सफल नेतृत्व गरेका दास प्रशिक्षणमा समेत अब्बल देखिएका छन् । रुविना क्षेत्री (वेलवासे)को कप्तानीमा रहेको नेपाली टोलीमा सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् ।

विभिन्न १० टोलीको सहभागिता रहेको उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएइ), मलेशिया र थाइल्याण्डको ‘ए’ टोली छन् । समूह ‘बी’मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यानमार छन् । नेपालले अब सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्