
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भारतीय गुलामहरुले देश चलाउँदै गरेको आरोप लगाएका छन् ।
उनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेको र यसमा आफूले मात्रै विरोध गरेको र अन्य सबै जना मरेका लाशहरु हुन् भनि प्रश्न समेत गरेका छन् । उनले लेखेका छन्, ‘भारतीय गुलामहरुले देश चलाउँदैछन् र म मात्र विरोधमा ? र म मात्र अदालतको अवहेलनामा ? सबै जना मरेका लाशहरु हुन् ?’
उनले सामाजिक सञ्जालमार्फत आफूहरुलाई पुष्पकमल दाहाल प्रचण्डभन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको बताएका छन् ।
‘हामीलाई प्रचण्डज्यू भन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लायो’, बालेनले लेखेका छन्, ‘दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा ।’
केहि दिनअघि मात्रै एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली धाएको आशयको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।














