
काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन दलको सांसदको हैसियतले हस्ताक्षर गरेपछि चौतर्फी आलोचना सुरु भएको छ ।
सभामुख भएलगत्तै दल त्यागेको घोषणा गरेका गौतम सांसदको हैसियतले प्रस्तुत भएपछि संविधानविद्, गठबन्धन दलकै शीर्ष नेतादेखि माओवादी सांसदहरूले नै उनीमाथि प्रश्न उठाइरहेका छन् । ओखलढुंगाबाट प्रदेशसभा सदस्यमा निर्वाचित गौतम माओवादीको कोटाबाट सभामुख बनेका थिए ।
माओवादी प्रदेश समिति सचिव तथा प्रदेश सांसद गणेश उप्रेतीले सत्ता लिप्सामा अशक्त भएकाहरुले सभामुखको दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हुदा छदाको सभामुखलाइ डुबाएर नर्कको यात्रा सुरु गरे सत्ता लिप्सामा आसक्त भएकाहरुले !!’
कोशीमा माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने पहल गरेको थियो । तर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए ।










