
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएका छन् । प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट पारे ।
‘सरकारलाई जनताको पूर्ण समर्थन छ । भ्रष्टाचारविरुद्धका कदमका कारणले पनि जनताको मर्म बुझेर सरकार काम गरिरहेको अनुभूति भएको छ । सत्तागठबन्धन यो सरकारको पक्षमा कटिबद्ध छ र सरकार दृढतापूर्वक आफ्ना कदम चाल्दैछ’, उनले भने, ‘बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन । सरकार पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न पछि पर्ने छैन । राम्रो काम गर्दागर्दै सरकार ढल्छ भने पनि हामीलाई आपत्ति छैन ।’
संसद्मा विपक्षी दलले असान्दर्भिकरूपमा विषयवस्तु उछालेर गतिरोध गरेकामा आपत्ति प्रकट गर्दै मन्त्री शर्माले सदनको गतिरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको प्रतिस्थापन विधेयकजस्ता महत्त्वपूर्ण र संवेदनशील विषयलाई अघि बढाउन नपाइएको उनको भनाइ थियो ।










