काठमाडौं, ५ पुस ।
प्रहरीमा घुसखोरी बढ्दै गएको छ । नेतृत्वले चासो नदिदा घुसखोरी बढेको छ । हाल अख्तियारको हिरासतमा नौ प्रहरी रहँदा अर्का प्रहरी फेरि घुससहित समातिएका छन् ।
धनुषाको धारापानीमा कार्यरत सई कालीचरण पंजियार १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले धारापानिस्थित प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई पंजियारलाई १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ ।
दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटेको टोलीले उनलाई शुक्रबार साँझ धनुषाको मिथिला नगरपालिका–६ ढल्केवर चोकबाट रंगे हात पक्राउ गरेको हो ।
घुस रकमसहित पक्राउ परेका सई पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाइएको छ ।












