काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफुलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाउदै जनतालाई प्रभाव दिन खोज्ने प्रधानमन्त्री देशले पाएको टिप्पणी गरेका छन् ।

नेपाल प्राज्ञिक परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक तथा सामरिक चूनौतिहरु बिषय विचार गोष्ठिमा लिङ्देनले प्रधानमन्त्री बनाउनका लागि भित्रि रुपमा हुने चलखेल सवैलाई थाहा भएपनि अहिले आफुलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाएर प्रभाव दिन खोज्ने प्रधानमन्त्री देशले पाएको टिप्पणी गरे ।
छिमेकीलाई कम्फर्टेवल हुने गरि सरकार बनाउने कामले मुलुकको भूराजनीतिक परिस्थीति पेचिलो बन्दै गएको उनले बताए । उनले देशलाई सवै हिसावले परनिर्भर बनाउने र कसैको आड लिएर सत्तामा टिकिरहने संस्कृतिले नेपाल गम्भीर भूराजनीतिक चपेटामा परेको अनुभव गरेको जिकिर गरे । बिभिन्न आवरणमा विदेशीहरुको सेवा गरेर सत्तामा जाने प्रवृति बढिरहेको र आफ्ना चाहना पुरा गर्न विदेशी शक्ति पनि मुलुकमा हावी हुन थालेको उनको भनाई छ ।
लिङ्देनले विदेशीलाई खुसी पार्नका लागि नै अहिले सेनामाथि पनि आक्रमण सुरु भएको र सेनाको संख्या घटाउनुपर्छ भन्ने आवाज उठ्न थालेको जिकिर गरे ।










