जनकपुरधाम । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादव र अर्थमन्त्री सञ्जय यादवको जवाफ माग गर्दै शनिबारको बैठक अवरुद्ध गरिएको हो ।

अर्थमन्त्री यादवले कानुन मिचेर असार मसान्तमा रकमान्तर गरी आफ्नो निर्वाचन क्षेत्रमा बजेट लगेको एमालेका सांसदले आरोप लगाएका छन् । अवरोधका कारण सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेको घोषणा गरे ।
एमालेका प्रमुख सचेतक लखनदास तत्माले मुख्यमन्त्री यादवको जवाफ माग गर्दै भने, ‘एमालेका मेयर भएको विदेह नगरपालिकामा ससर्त अनुदान किन दिइएन ? असार मसान्तमा सर्लाही जिल्लामा २२ वटा योजना रकमान्तर गरिएको छ । करिब १२ देखि १४ करोड रुपैयाँ के कति कारणले राखेको ? रेडबुकमा बिचौलियाबाट ५ देखि १० प्रतिशत कमिसन उठाएर योजना समावेश भएको सुनेको छु ।’














