जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक नेकपा एमालेले अवरुद्ध गरेको छ । शनिबार बैठक सुरु हुनासाथ अर्थमन्त्री संजय यादवले बजेट रकमान्तर गरी भ्रष्टाचार गरेको भन्दै एमालेका प्रदेश सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।

एमालेका सांसद लखन दासले स्थानीय तहमा पठाएको ससर्त अनुदान र आर्थिक वर्षको अन्तिममा विभिन्न मन्त्रालयबाट बजेट रकमान्तर गरी सर्लाहीमा मौत्र योजना पठाएको विषयमा मुख्यमन्त्री सरोज कुमार यादवले जवाफ दिनुपर्ने माग गरेका थिए ।
प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म प्रदेशसभाको बैठक चल्न नदिने भन्दै एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।
एमालेका प्रदेश सांसद दिपेन्द्र ठाकुरले आर्थिक मसान्तको अन्तिम समयमा बजेट रकमान्तर गरी अर्थमन्त्री र सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै यसबारे मुख्यमन्त्रीले जवाफ दिनुपर्ने अडान राखेका छन् । सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । अहिले प्रदेशसभा बैठक सञ्चालन गर्न एमालेका सांसदहरुसँग छलफल भइरहेको छ ।










