Logo
Logo

ठूलो परिमाणमा सिमकार्ड बेच्नेहरु सिआइबी खोजीमा, आठ जना पक्राउ




काठमाडौं । नियम मिचेर एकै व्यक्तिलाई सयौं सिम कार्ड बिक्रि गर्नेहरु पक्राउ पर्न थालेका छन् । सिआइबीले त्यस्ता आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तो सिम कार्ड कल/एसएमएस बाइपास लगायत अपराधमा प्रयोग भएको पाइएपछि सिमकार्ड बिक्रि गर्नेहरुलाई समेत प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले पक्राउ गरेको हो ।


गत २३ जेठमा सिआइबीले कल तथा एसएमएस बाइपासमा संलग्न चिनियाँ नागरिक जाओ जियाङपेङ र उनका कर्मचारी गणेश श्रेष्ठलाई पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा थप ११ जना पक्राउ परेको सिआइबीका प्रवक्ता एसपी संजयसिंह थापाले बताए । जसमध्ये धेरै जसो सिमकार्ड बिक्रि तथा दुरुपयोगमा संलग्नहरू छन् ।


यो घटनामा थप दुई चिनियाँ समेत पक्राउ परेका छन् । लि जेन र यु लानलाई सिआइबीले पक्राउ गरेको हो । उनीहरु लामो समयदेखि नेपालमा बस्नै आएका चिनियाँ हुन् । उनीहरुले अन्य नेपालीसँग लिएर बाइपास गिरोहका नाइकेलाई सिमकार्ड उपलब्ध गराउँदै आएका थिए ।


साथै नियमविपरीत एउटै नागरिकतामा सयौं सिम बिक्रि गर्ने सोलुखुम्बु घर भई काठमाडौं कपन बस्ने रमन कार्की, गोरखा घर भई डल्लु बस्ने अर्जुन कुमार श्रेष्ठ, काभ्रे बनेपाका निलेश श्रेष्ठ, सिन्धुलीका अनिष कार्की, सिन्धुपाल्चोकका गोपाल श्रेष्ठ, सिन्धुलीका रेशम श्रेष्ठ, बिशाल थापामगर र मुकुन्द सापकोटालाई पनि सिआइबीले पक्राउ गरेको छ । नियमविपरीत सिमकार्ड बेचेर अपराधमा प्रोत्साहन गरेको आधारमा उनीहरुलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइएको सिआइबीले जनाएको छ ।


प्रहरीले सो गिरोहबाट दुई हजार चार सय तीन वटा प्रयोग भएका र एक हजार तीन सय ९३ सिमकार्ड बरामद गरेको थियो । एक व्यक्तिलाई दुई भन्दा धेरै सिमकार्ड बेच्न नपाउनेमा कतिपय पसलेले धेरै बिक्रि गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिमकार्डकै दुरुपयोगका कारण कतिपय गम्भीर अपराध हुने भएकाले नियमविपरीत सिमकार्ड बेच्नेहरुमाथि पनि कारबाही थालिएको सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्य बताउँछिन् ।


दाजु–भाई नै पक्राउ
ठमेलमा होटल चलाउन सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी घर भएका गोपाल श्रेष्ठले चिनियाँ नागरिक जाओलाई भिओआइपीको अपराधमा सहयोग गरेका थिए । भिजिट भिसामा बस्नै आएका चिनियाँले गोपालकै भाई गणेशलाई कामदारका रुपमा राखेर नेपालमा भिओआपीको अपराध गर्दे आएका थिए । दुवै दाजुभाईलाई सिआइबीले पक्राउ गरिसकेको छ । विगतमा कल बाइपास धेरै हुनेमा उनले भने एसएमएस बाइपास धेरै गर्दै आएका थिए । खासगरी मोबाइलमा आउने ओटिपीका लागि उनीहरुले बाइपास गर्दै आएका थिए । कलमा भन्दा एसएमएसमा धेरै नाफा हुने भएकाले यसमा लागेका अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । दुरसञ्चार ऐनसम्बन्धि अनुसार पक्राउ परेका १३ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको सिआइबीका एसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्