
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न माग गर्दै परेको रिटमाथि आज सुनुवाइ नहुने भएको छ ।
उक्त रिट आज (आइतबार) का लागि न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेसी तोकिए पनि समय अभावका कारण हेर्न नभ्याइनेमा परेको हो ।
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईका अनुसार न्यायाधीश भट्टराईले कुमार रेग्मीसँगको अर्को इजलासमा पनि बस्नुपर्ने भएपछि आइतबार एकल इजलास नबस्ने भएको हो।
डिभिजन बेन्चमा धेरै मुद्दा भएकाले आज एकल इजलास बस्न नभ्याइने भएका कारण उक्त रिटमाथि आज सुनुवाई हुन नसक्ने जानकारी न्यायाधीश भट्टराईले गराएका हुन् ।
कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पुर्याएर गठन भएको मुख्यमन्त्री थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्चमा रिट दायर गराएका थिए ।










