
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताएका छन् ।
सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेकाले हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले पुष्पलाल राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने स्रष्टाहरूलाई बधाइ ज्ञापन गर्दै सिर्जनाको क्षेत्रमा निरन्तर प्रगतिको कामनासमेत गरे ।
‘पुरस्कृत प्रतिभाहरूले राज्यको तर्फबाट प्रदान गरिएका यस किसिमका पुरस्कार तथा सम्मानबाट आ–आफ्नो कार्यको मूल्यांकन भएको महशुस गर्दै गौरवान्वित हुनुहुनेछ भन्ने आशा लिएको छु । साथै पुरस्कृत व्यक्तित्वहरूको थप दायित्व तथा जिम्मेवारी थपिएको हुँदा तपाईंहरूबाट आगामी दिनमा सम्बन्धित क्षेत्रमा अझ बढी सक्रियता र योगदानको अपेक्षा गर्दछु ,’ उनले भने ।










