काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिलाई एमालेले स्वीकारेको बताएका छन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग गिरीले प्रधानमन्त्रीले भविष्यमा त्यस्तो कमजोरी नदोहोर्याउने प्रतिबद्धता गरेकाले एमालेले प्रधानमन्त्रीको संसद्को अभिव्यक्तिलाई स्वीकार गरेर अघि बढ्ने बताए ।
तर, प्रधानमन्त्रीले गहिराइमा गएर जवाफ दिन नसकेको उनले बताए । समग्रमा प्रधानमन्त्रीको संसद्को अभिव्यक्तिलाई एमालेले सकारात्मक रूपमा लिएको प्रमुख सचेतक गिरीको भनाई छ ।
‘सारमा उहाँले मैले बोल्ने कुरामा त्रुटि गरेँ, मेरो भावना त्यस्तो थिएन भन्नुभयो, भविष्यमा यस्ता कमजोरी नदोहोर्याउने भन्नुभएको छ । यसलाई हामी स्वीकार गर्छौं । उहाँले गहिराइबाट जवाफ दिन सक्नुभएको छैन । गहिराइबाट जवाफ आएको छैन । उहाँको अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएका छौँ’, उनले भने ।










