काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सात महिनामा वरको सिन्को पर पनि नसारेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको वाग्मती प्रदेश संगठन कमिटीको सातौं बैठकलाई सम्बोधन गर्दै उनले सात महिनाको अवधिमा सरकारले ‘वरको सिन्को पर पनि नसारेको’ भन्दै सरकारका गतिविधिप्रति आक्रोश व्यक्त गरे ।
झुट बोलेर जनतालाई झुक्याउने काम गरिरहेको आरोप लगाउँदै ओलीले भनेका छन्, ‘सात महिना त सिद्धियो । यो सरकारले के गर्यो त ? वरतिरको सिन्को परतिर के सार्यो ? केही पनि गरेको छैन राम्रो काम । यसले के गर्यो ? ढाँट्छ, छक्याउँछ । मिटरब्याजीहरूको सम्बन्धमा जेठ २४ गते विधेयक पास गर्न दिएनन् भनेर गृहमन्त्री कड्किए । यिनीहरुनै हुन, जसले वैशाख २४ गते पेस गर्नुपर्ने कुरा असार ५ गते पेस गर्छन् संसद्मा । के हेरेर बसे ? राष्ट्रिय सभामा असार ५ गते पेस गर्छन, वैशाख २४ गते गर्नुपर्ने त्यो अध्यादेश सम्बन्धी प्रतिस्थापन विधेयक । वैशाख २४ देखि असार ५ सम्म के हेरेर बसे ।’
आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिसनमा लागेको पनि उनले बताए । मिटरब्याज सम्बन्धी कानुन निर्माणको सन्दर्भमा ओलीले वर्तमान सरकारले नै चासो नदिएको पनि आरोप लगाए ।
‘६० दिनभित्र अध्यादेश वा त्यसलाई प्रतिस्थापन गर्ने विधेयकको म्याद सिद्धिन्छ । २० गते सिध्याए । प्रचण्डजी एण्ड कम्पनीको ७ गठबन्धन, १० गठबन्धन कतिको गठबन्धन हो । यो गठबन्धनको सरकारको हो । यसलाई असफल पारिसक्यो’, उनले भने, ‘हिजो ६० दिन कटेको ५ दिनपछि फेरि विधेयक पारित गरौं भने । ६० दिनमा त्यो रद्द भइसक्छ । अर्को विधेयक ल्याउनुपर्छ । यिनीहरुलाई कानुन, संविधानको मतलब होइन । खाली जनता छक्याउने, अनि त्यहाँ त हामीले यो संविधान बमोजिम मिल्दैन भन्नेबित्तिकै कुदेर माइतीघर मण्डलामा पुग्ने र एमालेले हुन दिएन भन्ने !’










