Logo
Logo

तत्काल नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न बारको माग




काठमाडौं । तत्काल भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्न सर्वोच्च अदालत बार एशोसिएसनले माग गरेको छ । संवैधानिक प्रावधान स्मरण गराउँदै सर्वोच्च बारले सिफारिसका लागि न्याय परिषद्लाई आग्रह गरेको छ ।


बारका सचिव श्यामकुमार खत्रीले बुधबार एक विज्ञप्ति जारी गर्दै बुधबार बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।


‘नेपालको संविधानको धारा २८४(३) मा संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै यस संविधान बमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने’ व्यवस्था छ ।
यही प्रावधानअनुसार प्रक्रियाअघि बढाउन बारले माग गरेको हो । ‘उपर्युक्त संवैधानिक व्यवस्थाअनुसार बहालवाला सम्माननीय प्रधानन्यायाधीशज्युको कार्यकाल मिति २०८०÷४÷२० मा सकिनु एकमहिना अगावै भावी प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गरिसक्नुपर्ने दायित्व संवैधानिक परिषद्को भएको हुँदा संवैधानिक व्यवस्थाअनुसार भावी प्रधानन्यायाधीशको नियुक्तिको लागि सिफारिस गर्नु हुन जोडदार अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा छ ।
सर्वोच्च अदालतका साथै न्यायपरिषदलाई समेत उक्त विज्ञप्तिमार्फत् नै सर्वोच्च बारले संवैधानिक प्रावधानबारे जानकारी गराएको छ ।
हालका प्रधानन्यायधीश हरिकृष्ण कार्कीले २० साउनमा अवकाश पाउँदैछन् । त्यसपछि विश्वम्भर श्रेष्ठ प्रधानन्यायाधीशको लाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्