
काठमाडौं । देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । कोसी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।
सुनसरीको धरान, चतरा तथा झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एयरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
उक्त स्थान भएर बहने बिरिङ, कनकाईलगायतका नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले उच्च सतर्कता अपनाउनु बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहँदा बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र कोसी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
महाशाखाका अनुसार मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाको भनाइ छ ।














