काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चालिने बताएकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले डिजिटल साक्षरता प्रवद्र्धधन र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याइ व्यवस्थित गर्न मन्त्रालय लागि परेको बताएकी हुन् ।

सञ्चारमन्त्री शर्माले भनिन्, ‘आगामी आर्थिक वर्षमा कानुनको तर्जुमा गरी सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने व्यहोरा अवगत गराउन चाहन्छु । विद्युतीय तथ्यांकहरुको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गरिने छ ।’
उनले साइबर सुरक्षासँग सम्बन्धित विषयहरु एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा लैजाने तयारी भइरको पनि बताइन् । हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भइ सञ्चालनमा रहेको उनले जानकारी दिइन् ।










