
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज शुक्रबार नेपाल आउँदैछन् । दक्षिण तथा मध्य एसिया हेर्ने लु एक दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार लुको भ्रमणको औपचारिक जानकारी गराएको हो । भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री साउदसँगको भेटमा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा छलफल गर्नेछन् ।
लुले अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थासँग पनि भेटघाट गर्नेछन् । नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले सीप प्रदान गर्न उक्त संस्थाले गरेका प्रयासबारे लुले बुझ्ने दूतावासले जनाएको छ ।
त्यस्तै लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
लामो विवाद र बहसपछि एमसीसी कार्यान्वयनमा आएपछि लु पछिल्लो एक वर्षमा दोस्रो पटक काठमाडौं उत्रिन लागेका हुन् ।
२०७८ भदौ ३० मा सहायक विदेशमन्त्रीमा नियुक्त लु २०७९ साउन १२ र १३ गते नेपालको दुईदिने भ्रमणका क्रममा काठमाडौं आएका थिए । उनले २०७८ मंसिरमा पनि चार दिने भ्रमण गरेका थिए । त्यसक्रममा लुले एमसीसी सम्झौता कार्यान्वयनका लागि संसद्बाट अनुमोदनका विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट गरेका थिए।
संसदबाट एमसीसी अनुमोदनपछि अमेरिकी मात्र होइन नेपालप्रति अन्य शक्ति राष्ट्रहरूको पनि चासो बढ्दै गएको छ । पछिल्लो आम निर्वाचनपछि प्रचण्ड नेतृत्वमा पुस १० गते नयाँ सरकार गठनपछि नेपालमा शक्ति राष्ट्रका प्रतिनिधिहरु काठमाडौं उत्रिनेक्रमले निरन्तरता पाएको छ ।
फागुन १ गते दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप–सहायक विदेश मन्त्री अफ्रीन अख्तर पनि काठमाडौं आइपुगेका थिए । दुईदिने काठमाडौं बसाइका क्रममा अख्तरले उच्चस्तरीय राजनीतिक साथै नेपाली सेनाका अधिकारीहरुसँग पनि भेटघाट गरेका थिए ।
माघ २४ गते अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) प्रमुख समान्था पावर काठमाडौं आएर माघ २५ स्वदेश फर्केका थिए ।
माघ १६ र १७ मा अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा आएका थिए । अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघ (इयु) की आयुक्त जुटा उर्पिलाइनेन पनि माघ २५ काठमाडौं आइपुगेका थिए ।
नेपाल भ्रमणका क्रममा संयुक्त अधिराज्य (बेलायत) का रक्षामन्त्री एण्ड्र्यु मोरिसन माघ २५ गते काठमाडौं आएका थिए । यतिमात्र होइन दुई छिमेकी मुलुक भारत र चीनका उच्च अधिकारीहरूले पनि नेपालमा औपचारिक र अनौपचारिक भ्रमण गरेका छन् ।











